नेपालमा प्रभुत्व जमाउन शक्ति राष्ट्रहरूले ठूलो रकम खर्च गरिरहेका छन्ः अध्यक्ष दाहाल

फाइल तस्बिर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको निगरानी बाहिर समानान्तर बजेट वितरण हुने गरेको बताएका छन्।

मंगलवार माओवादी केन्द्र समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आईएनजीओ वा एनजीओका नामबाट निकै ठूलो रकम आउने गरेको बताएका हुन्।

विभिन्न विदेशी दातृ संस्थाहरू या राष्ट्रहरूले दिने उक्त रकम नेपालको बजेटको समानान्तर रुपमा खर्च हुने गरेको तर सरकारले नियमन र नियन्त्रण गर्न नसकेको उनको भनाई थियो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले नेपाल जस्तो गरिब देशमा प्रभाव पार्न र प्रभुत्व विस्तार गर्ने साधनका रुपमा शक्ति राष्ट्रले नेपालमा लगानी गरिरहेको स्पष्ट पारे। उनले आफू प्रधानमन्त्री हुँदा यसलाई राज्यको अनुगमन र लेखाप्रणालीभित्र राख्न प्रयास गरेको दाबी गरे।

अध्यक्ष दाहालले शक्ति राष्ट्रहरू वा दातृ निकायले दिने अनुदान विशुद्ध सहयोग हुन नसक्ने ठोकुवा गरे। अनुदानमा राजनीतिक उद्देश्य रहेको पनि स्पष्ट पारे। शक्ति राष्ट्रहरूले विश्वभरी नै आफ्नो प्रभुत्व कायम गर्न विभिन्न संघ संस्था निर्माण गर्ने र परिचालन गर्ने गरेको उनले बताए।

उहाँलेसबै सामाजिक संघ संस्था त्यस्तै हुन् र सबै एनजीओप्रति उही नीति लिनुपर्छ भन्ने बुझाई गलत हुने बताउनु भयो। कतिपय संघ संस्थाहरू विशुद्ध सामाजिक सेवा भावले समेत कार्यरत रहेको उहाँको भनाई थियो। अध्यक्ष दाहालले पार्टी कार्यकर्ताहरूलाई विभिन्न सामाजिक संघसंस्थामा सहभागी हुन र हस्तक्षेप गर्नसमेत निर्देशन दिनुभयो।