वैकल्पिक राजनीतिक शक्तिहरूको बढ्दो विश्वसनीयता चरम संकटमा
रनसुर महतारा (रमेश)
काठमाडौं। गएको आम निर्वाचनमा जनताले नयाँ विकल्पको रूपमा तीनवटा राजनीतिक पार्टीलाई संसदमा प्रतिनिधित्व गर्ने अधिकार दिएका थिए। पुराना राजनीतिक दलप्रति बढ्दो नैराश्यता र परिवर्तनको चाहनाले जनमानसमा नयाँ आशाको संचार गरेको थियो। तर, आज यी तीनवटै वैकल्पिक शक्तिका नेताहरू गम्भीर विवादमा फसेपछि जनताको भरोसा टुट्दै गएको छ।
सञ्चार क्षेत्रमा काम गर्दा देखेका विकृतिहरूलाई सफा गर्ने दाबी गर्दै रवि लामिछानेले स्थापना गरेको राष्ट्रिय स्वतन्त्र पार्टी आज नेतृत्वविहीन अवस्थामा पुगेको छ। सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेले पार्टी सभापतिको जिम्मेवारी छोड्न नसक्नु नैतिक नेतृत्वमाथिको गम्भीर प्रश्न बनेको छ। जनताले सफा राजनीतिको अपेक्षामा मत दिएका यी नेताको यस्तो अवस्थाले पार्टीका कार्यकर्ता र समर्थकहरूमा निराशा फैलाएको छ।
यस्तै, मधेशी समुदायको समान हक अधिकारको एजेण्डालाई आधार बनाएर राजनीतिमा प्रवेश गरेका डा.सीके राउतको जनमत पार्टी पनि विभिन्न विवादबाट मुक्त हुन सकेको छैन। मधेश केन्द्रित राजनीतिक दलको रूपमा स्थापित यो पार्टीले जनताको अपेक्षा पूरा गर्न नसक्दा त्यहाँका मतदाताहरूमा पनि असन्तुष्टि बढेको छ।
त्यसैगरी, पिछडिएका वर्ग र जातीय पहिचानको मुद्दालाई बोकेर संसदीय राजनीतिमा प्रवेश गरेको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी पनि विवादबाट टाढा रहन सकेको छैन। थारु समुदायका नेताको रूपमा चिनिएका चौधरीको नेतृत्वमा रहेको यो पार्टीले पनि आफ्ना समर्थकहरूको अपेक्षा पूरा गर्न चुनौती भोगिरहेको छ।
यी तीनवटै वैकल्पिक राजनीतिक शक्तिका नेताहरूको विवादास्पद अवस्थाले नेपाली राजनीतिमा गहिरो प्रभाव पारेको छ। जनताले पुराना राजनीतिक दलको भ्रष्टाचार र अकर्मण्यताबाट मुक्ति पाउने आशामा यी नयाँ पार्टीहरूलाई मत दिएका थिए। तर, तिनीहरूका नेताहरू पनि त्यही पुराना शैलीको राजनीति गर्न थालेपछि मतदाताहरूको भरोसा उठ्दै गएको छ।
यो अवस्थाले नेपाली लोकतन्त्रको भविष्यमा नकारात्मक प्रभाव पार्न सक्छ। जनताको राजनीतिक नेतृत्वप्रतिको भरोसा घट्दै जाँदा लोकतान्त्रिक मूल्य मान्यतामा नै प्रश्न उठ्न सक्ने चिन्ता व्यक्त गरिएको छ। यदि वैकल्पिक शक्तिका नेताहरूले पनि आफ्नो आचरण सुधार्न नसके नेपाली राजनीतिमा वैकल्पिक नेतृत्वको खोजी अझै लम्बिन सक्ने संकेत देखिएको छ।
त्यस्तै लामिछानेको राजनीतिक यात्रा जसले एक समय नेपाली राजनीतिमा नयाँ आशाको संचार गरेको थियो, अहिले अनिश्चितताको भुमरीमा फसेकाे छ। उनको पार्टीले सार्वजनिक दबाबका लागि हस्ताक्षर अभियान चलाउँदै रिहाईको माग गरिरहेको छ तर कानुनी प्रक्रिया अझै चलिरहेकाे छ।
यसैबीच, नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर राजनीतिक स्थिरताको नाममा सत्ता साझेदारी गरिरहेका छन्। र केपी शर्मा ओली गत बर्षदेखि प्रधानमन्त्रीको कुर्सीमा बसिरहेका छन्। यो गठबन्धनले पुष्पकमल दाहाल प्रचण्डलाई सत्ताबाट बाहिर गर्दै नेपाली राजनीतिमा नयाँ परिवर्तन ल्याएकाे थियाे।
कांग्रेस र एमालेको यो साझेदारी नेपाली राजनीतिमा असामान्य घटना मानिएको छ। परम्परागत रूपमा एकअर्काका मुख्य प्रतिद्वन्द्वी मानिने यी दुई दलले वर्तमान राजनीतिक अस्थिरतालाई ध्यानमा राखेर एकजुट भएको देखिन्छ। यस गठबन्धनले संसदमा बहुमत हासिल गर्दै सरकार संचालनमा स्थिरता ल्याउने दाबी गरिरहेको छ।
नेपाली राजनीतिमा देखिएको यो परिवर्तन अस्थायी मात्र हुन सक्छ। शक्ति संघर्ष, कमजोर गठबन्धन र भ्रष्टाचारका कारण नेपाली राजनीति निरन्तर अस्थिरतामा रहेको छ।
हाल कांग्रेस र एमालेको साझा सरकारले आफ्नो स्थिरता कायम राख्न सक्ने कि आउँदा दिनमा फेरि नयाँ राजनीतिक गठबन्धन देखिने भन्ने कुराको जवाफ समयले दिने छ।
