बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
हेटौंड । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन्। बुधबार हेटौंडामा भएको निर्वाचनमा कुल ३७ मत खसेकोमा बानियाँले २२ र उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत प्राप्त गरे । एक मत भने बदर भएको छ।
बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन्। संसदीय दलको बहुमत संख्या अर्थात् २२ मतसहित बानियाँ दलको नेता चुनिएका हुन्।
यसअघि बानियाँकै अगुवाइमा संसदीय दलका तत्कालीन नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । उक्त प्रस्ताव संसदीय दलको बहुमत अर्थात् २२ मतले पारित गरेको थियो।
रिक्त संसदीय दलको नेता पदका लागि बुधबार निर्वाचन गरिएको हो । संसदीय दलको नेतामा बानियाँ र लामा यही कार्यकालमा दोस्रो पटक आपसमा भिडेका हुन्। २०७९ मा बानियाँलाई नै पराजित गर्दै संसदीय दलको नेतामा लामा निर्वाचित भएका थिए।
संसदीय दलको नेतामा निर्वाचित बानियाँ कांग्रेसको बागमती प्रदेश सभापतिसमेत हुन्।
