अब संसदीय व्यवस्था होइन, समाजवादी गणतन्त्र र कार्यकारी राष्ट्रपति चाहिन्छ: संयोजक गजुरेल
काठमाडौं।संसदीय व्यवस्थाले मुलुकको स्थायित्व र जनताको मुक्ति सुनिश्चित गर्न असफल भएको ठहर गर्दै कम्युनिस्ट समाजवादी पार्टी, नेपालले यसको विकल्पमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको प्रणाली अवलम्बन गर्नुपर्ने धारणा अघि सारेको छ।
पार्टीका संयोजक हरिकृष्ण गजुरेलले अहिलेको संसदीय संरचना असफल भइसकेको भन्दै समाजवादी गणतन्त्र स्थापनाका लागि वैकल्पिक शासन प्रणाली आवश्यक रहेको बताए।
देशमा बारम्बारको राजनीतिक अस्थिरता, भ्रष्टाचार संस्थागत रूपमै व्याप्त र जनता–सत्ताबीचको बढ्दो दूरी संसदीय व्यवस्थाको कमजोरी हो, गजुरेलले भने,अब मुलुकलाई स्थायित्व र समाजवादी दिशातर्फ डोहो-याउन प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणाली आवश्यक रहेको बताए।
उनले समाजवादको आधारमा रूपान्तरणमुखी संविधान संशोधन गर्दै कार्यकारी राष्ट्रपतिको प्रत्यक्ष निर्वाचनमार्फत सुदृढ भएर सबै रानीतिक पार्टीहरू लाग्नु पर्नेमा जोड दिए।
कम्युनिस्ट समाजवादी पार्टी नेपालका संयोजक गजुरेलले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्र माफियाको कब्जामा परेको आरोप लगाउँदै देशलाई सिंगापुर जस्तो पूँजीवादी मोडेलको सट्टा समाजवादी नेपाल बनाउनुपर्ने बताए।
त्यस्तै संयोजक गजुरेलको नेतृत्वमा गठन भएको पार्टीले राष्ट्रिय मुक्ति एकता अभियान सञ्चालन गर्ने घोषणा गरेसँगै देशका विभिन्न ठाउँबाट अभियान सञ्चालन गरि रहेकाे छ। यो पार्टीले वर्तमान संसदीय व्यवस्थाको कडा विरोध गर्दै समाजवादी गणतन्त्र र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा आवाज उठाएको छ।
वर्तमान संसदीय व्यवस्थाले नेपाली जनताका समस्याहरूको समाधान गर्न नसकेको अवस्थामा नयाँ विकल्पको खाँचो रहेको छ। र भ्रष्टाचार, युवाहरूको वैदेशीक रोजगारीमा पलायन र शिक्षा स्वास्थ्यमा माफियाहरूको कब्जा जस्ता समस्याहरूले देशलाई संकटमा धकेलेको संयोजक गजुरेल आरोप लगाएका छन्।
यो पार्टी गठन नेपालको वामपन्थी राजनीतिमा देखिएको नयाँ विकासका रूपमा मानिएको छ। संयोजक गजुरेलले प्रचण्डको नेतृत्वमा रहेको माओवादी केन्द्रले जनताका लागि गरेका प्रतिबद्धताहरू पूरा गर्न नसकेको आरोप लगाएको छ। उनले भने १० वर्षे जनयुद्धका बेला उठाइएका मुद्दाहरू संसदीय राजनीतिमा प्रवेश गरेपछि बिर्सिएको बताएका छन्।
पार्टीका नेताहरूले जनयुद्धका बेला जनताका माग सम्बोधन नभएसम्म हतियार नबिसाउने प्रतिबद्धता गरेको तर त्यो पूरा नगरेर विचलित भएकोले नयाँ पार्टी स्थापना गरेर जनताका माग सम्बोधन गर्न अगाडि बढेको बताए। उनका अनुसार सुशासन, समृद्धि, जनताको अधिकार स्थापना, निःशुल्क शिक्षा स्वास्थ्य र रोजगारीको सुनिश्चितता जस्ता मुद्दाहरू अझै पनि अधुरा नै रहेकाले जनताका हक अधिकार सुनिश्चित गर्न पार्टी स्थापना गरेको हो।
सो पार्टीले नेपालमा विदेशी हस्तक्षेपको कडा विरोध गरेको छ। भारतसँगको शान्ति मैत्री सन्धि र एमसीसी सम्झौता जस्ता कुराहरूलाई नेपालको स्वाधीनतामा आघात पुर्याउने संज्ञा दिए। र नेपाल आन्तरिक र बाह्य दुवै किसिमको उत्पीडनमा परेको जिकिर गरे।
राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेकोले,यसका लागि जनतासँग सहकार्य गर्दै छापामार संघर्ष र विद्रोह गरेर,समाजवादी गणतन्त्र स्थापना भएपछि मात्र नेपालमाथिको संकट समाधान हुने उनको दाबी छ।
समाजवादी गणतन्त्र स्थापना भएपछि पाँच वर्षभित्रै नेपाललाई समृद्ध राष्ट्र बनाउन सकिने संयोजक गजुरेलले दाबी गरेका छन्। नेपालसँग प्रशस्त जल स्रोत, जङ्गल, जडिबुटी, जमिन र जलविद्युतको सम्भावना रहेको उल्लेख गर्दै उनले यी सबै सम्पदाको उचित उपयोग भएमा नेपाल यूरोप र सिंगापुर जस्तो समृद्ध राष्ट्र बन्न सक्ने बताएका छन्।
शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क बनाउने, युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था मिलाउने र भ्रष्टाचारीमाथि कडा नियन्त्रण गर्ने उनको प्रतिबद्धता छ। वर्तमान व्यवस्थामा माफियाहरूको कब्जामा रहेको शिक्षा र स्वास्थ्यलाई राज्यको जिम्मेवारीमा ल्याउने योजना रहेको बताएका छन्।
प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीको वकालत
संसदीय प्रणालीको विकल्पका रूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको वकालत गर्दै पार्टीले यसलाई आजको आवश्यकता ठानेको संयोजक गजुरेलले भनेका छन्। जनताले सिधै आफ्ना नेता वा प्रतिनिधि छान्न सक्ने यो प्रणालीले वास्तविक लोकतन्त्रको स्थापना गर्ने उनको विश्वास छ।
वर्तमान संसदीय व्यवस्थामा जनताको नाममा भ्रष्टाचार भइरहेको र लाखौं युवाहरू विदेश पलायन हुन बाध्य भएको अवस्थामा यो प्रणाली परिवर्तन आवश्यक भएको उनको तर्क छ। लोकतान्त्रिक गणतन्त्रको विकल्पका रूपमा समाजवादी गणतन्त्र उत्तम विकल्प रहेको पार्टीको दाबी गरे।
राष्ट्रिय मुक्ति एकता अभियानका माध्यमबाट पार्टीले जनताको बीचमा पुगेर आफ्ना नीति कार्यक्रमहरू प्रस्तुत गर्ने योजना बनाएको छ। देशव्यापी रूपमा यो अभियान सञ्चालन गरिने र जनतासँग प्रत्यक्ष अन्तरक्रिया गरेर राष्ट्रिय मुक्ति क्रान्तिको विचारलाई फैलाइने पार्टीको रणनीति रहेको छ।
अहिलेको वर्तमान दलाल संसदीय राज्य व्यवस्थाको विरुद्धमा जनताको विद्रोह आवश्यक रहेको संयोजक गजुरेलले जिकिर गरे। जनताले आफ्ना अधिकारका लागि संघर्ष गर्नुपर्ने अवस्था आएको उनको निष्कर्ष रहेको छ।
यो नयाँ राजनीतिक पहलले नेपालको राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने कुरा समयले मात्र बताउने छ। तर निश्चित रूपमा नेपालको वामपन्थी राजनीतिमा फेरि एउटा नयाँ आयाम थपिएको अनुमान गरिएको छ।
