माओवादीः लुटेको पैसाले जोडे सम्पत्ति,बने नेता,व्यवसायीदेखि समाजसेवी
अनुसा थापा
व्यवस्था परिवर्तनका लागि मुलुकमा पटकपटक आन्दोलन भयो । त्यसैमध्येको एक हो–माओवादीको जनयुद्द । देश विकास, जातभातका नाममा हुने विभेदको अन्त्यलगायतका एजेण्डा बोकेर माओवादीले १० वर्ष जनयुद्द गर्यो । सो अवधिमा माओवादीहरुले थुप्रै बैंक लुटे । उनीहरुले अंकुत सम्पत्ति कमाए ।
जनयुद्दको क्रममा पैसा लुटेकाहरु विभिन्न पार्टीमा आबद्ध छन् । लुटेको पैसा जोगाउनका लागि उनीहरु माओवादी छोडेर अन्य पार्टीमा गएका हुन् । कतिपय एमाले, काँग्रेस, रास्वपालगायतका पार्टीमा छन् भने कतिपय राजनीतिक छोडेर आनन्दित जीवन बिताइरहेका छन् ।
लुटेको रकमले कतिपयले व्यापार व्यवसाय गरे । छोराछोरी विदेश पठाए । सेयरमा लगानी गर्नेहरु पनि त्यत्तिकै छन् । निर्माण, घरजग्गा, सुनमा पैसा लगानी गरियो । शिक्षा, स्वास्थ्य, सहकारी, क्रसर उद्योगमा पनि उनीहरुले हात हालेका छन् । जनयुद्दका क्रममा माओवादीका नेता–कार्यकर्ताले कति पैसा कमाए ? सरकारले छानबिन गरेन ।
एकताका बजारमा खुब चर्चा चलेको थियो कि भाटभटेनी साहु मीनबहादुर गुरुङ्ग र थाहाखबरका मालिक अजय सुमार्गीले माओवादीका अध्यक्ष पुष्पकमल दाहालको पैसा चलाएका छन् । २०५२ फागुन १ गतेदेखि माओवादीको जनयुद्द शुरु भयो । अधिकांश माओवादीमा लाग्नुको एउटै कारण थियो– आर्थिक अवस्था ।
खान–लगाउन पनि नपुग्नेहरु माओवादीको जनयुद्दमा लागेका थिए । त्यसैगरी, ऋण तिर्न नसकेकाहरु जनयुद्दमा सामेल भए । अहिले उनीहरुकै म्यानपावर, कन्सल्टेन्सी, अस्पताल, स्कुल, होटल–रेष्टुरेण्ट, बैंक तथा वित्तिय संस्था छन् । यो सम्पत्ति यिनीहरुले कसरी जोडे ? प्रश्न उठेको छ ।
सरकारी कर्मचारीले एक सय रुपैयाँ भ्रष्टाचार गर्यो भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समातेर मुद्दा चलाउँछ । अनि जनयुद्दको नाममा लुट्नेहरुलाई केही नहुने ? अरुको सम्पत्ति लुट्नु अपराध हो कि होइन ? तर, जुनसुकै पार्टी सरकारमा गएपनि माओवादीका नेता–कार्यकर्तामाथि छानबिन गरेन ।
कारण हो,‘लहरो तान्दा पहरो आउने डर ।’ अन्य पार्टीका नेता पनि भ्रष्टाचारमै चुलुम्मै डुबेका छन् अनि के छानबिन गर्थें । ‘तै चुप, मै चुप’ को अवस्था छ । पहिले बैंक लुटेको माओवादीले शान्ति सम्झौतामा आएपछि देश लुट्यो । सरकारी, गुठी, सार्वजनिक जग्गा दर्ता गर्ने, राज्यलाई राजश्व छल्ने प्रवृत्ति मौलायो ।
सत्तामा गएर राज्यको ढुकुटी लुटियो । देशको अनुहार फेर्छौं, जनताका लागि काम गर्छौं भनेर माओवादीले १० वर्ष जनयुद्द गर्यो । सो क्रममा १७ हजार नेपाली जनता मारिए । घाइते हुने कति हुन् कति । तर, माओवादीले आफ्नो वचन पुरा गरेन । अरुलाई भ्रष्टाचारी भन्ने माओवादीका नेताहरुमा जनताले केही फरक पाएनन् ।
मौका नपाउँदासम्म मात्र हो भन्ने कुराको पुष्ट्याइँ माओवादीका नेताहरुले गरे । व्यक्तिगत सम्पत्ति जोड्नमै उनीहरु केन्द्रित भए । माओवादी अध्यक्ष प्रचण्डको हातमा ७८ लाखको घडी रहेको चर्चा सर्वसाधारणमा छ । जंगलबाट आएको पार्टीका नेताको हातमा कहाँबाट त्यति मँहगो घडी आयो ? प्रश्न उठ्छ ।
माओवादीले देश र जनताका लागि केही गर्न नसकेको भन्दै जुम्लाका रतन तिरुवाले केही वर्षअगाडि राष्ट्रिय नाँचघरमा प्रचण्डलाई जुत्ताले हिर्काए । केही दिनअगाडि एउटा कार्यक्रममा प्रचण्डले भने,‘केपी ओलीको सरकारले जहाँ टेक्छ, त्यही भ्रष्टाचार हुन्छ ।’ आफूले के गरेको छु ? त्योचाँहि उनले हेर्दैनन् ।
भ्रष्टाचार नगर्ने यहाँ कुनै नेता छैनन् । पहिले आफूबाट सुधारौं अनि अरुमाथि आरोप लगाउँदा ठीक होला । आफैं भ्रष्टाचारमा डुबेको व्यक्तिले अरुमाथि आरोप लगाउन नसुहाउँला ? त्यसैगरी, उनका पार्टीका नेताहरु पनि भ्रष्टाचारी छन् । त्यसतर्फ पनि प्रचण्डले आँखा घुमाउन आवश्यक देखिन्छ ।
लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएकोमा प्रचण्ड निकै गर्व महशुस गर्छन् । माओवादीको जनयुद्धको ३० वर्ष भयो । तर, देशमा के परिवर्तन भयो ? जनतामा के परिवर्तन भयो ? विकास भनौं भने विदेशी ऋण मात्रै छ । जनता खान नपाएर धमाधम देश छोडिरहेका छन् ।
यहीँ हो परिवर्तन ? जनतालाई भेडाबाख्राझैं अरु देशमा पठाउनुलाई देश विकास भन्ने ? हिजो एउटा राजा थिए, जसले जनताले तिरेको कर खान्थें । अहिले यहाँ हजारौं छोटेराजा छन् । अहिलेजस्तो सांसद र जनप्रतिनिधिको लहर पनि थिएन । ३८ हजार जनप्रतिनिधिले जनताले तिरेको करबाट तलब खान्छन् ।
देशमा सात प्रदेश छ । प्रदेशपिच्छे सदन र सांसद छन् । आफ्ना कार्यकर्ता पोस्नका लागि देशको ढुकुटी स्वाहा पार्ने काम गरियो । पहिले ६५ जना सांसद रहेकोमा अहिले संघमा मात्रै २७५ जना सांसद छन् । कर्मचारी त्यत्तिकै पाल्नुपरेको छ । जनप्रतिनिधि पनि तलब खाने, कर्मचारी पनि ।
प्रचण्डले किन जनयुद्द शुरु गरेको रहेछ ? भन्ने अहिले आएर छर्लङ्ग हुँदैछ । राजाले खायो अब हामी खानुपर्छ भनेर उनले त्यत्रो वर्ष देशलाई अशान्त बनाए । अहिले केही प्रगति भएन । राजाको पालामा सञ्चालित उद्योगहरु सबै बेचेर खाइहाले । देशको आफ्नो उत्पादन केही छैन ।
नेताहरु जुकाजस्तै मोटाएका छन्, जनतालाई खान–लगाउनकै अभाव छ । विदेशी हस्तक्षेप बढेको बढ्यै छ । देश छोड्नेको संख्या निरन्तर बढिरहेको छ । विदेशी ऋण २७ खर्ब पाँच अर्ब १७ करोड भइसकेको छ । देश शिथिल अवस्थामा पुगेको छ । नेताहरुलाई सेवासुविधा थपिएको थपिएै छ, तर जनताले पाउने सेवासुविधा धमाधम कटौती गरिएको छ ।
व्यवस्था परिवर्तन गरे भनेर मख्ख पर्ने प्रचण्डसँग विदेशी ऋण तिर्ने क्षमता छ ? छिमेकी देशले कब्जा गरेको भूभाग फिर्ता ल्याउन सक्छन् ? वैदेशिक रोजगारीमा जाने क्रम उनले रोक्न सक्छन् ? भ्रष्टाचार गर्नेलाई कानुनको कठघरामा उभ्याउन सक्छन् ? उद्योग कलकारखाना खोल्न सक्छन् ?
सक्दैनन । किनकि, काम गर्नलाई भिजन चाहिन्छ । तर, माओवादीका नेतासँग भिजन छैन । माओवादीले जानेको थर्काउन र लुट्न मात्रै हो । माओवादी सही भएको भए, सायदै आज देशको यो दुर्दशा हुन्थ्यो । देशको अवस्था के छ ? जनताले बुझ्दै छन् । लोकतन्त्र गणतन्त्र नेताहरुका लागि कमाइखाने भाँडो भयो, जनताका लागि बोझ ।
अब यो संघीयता टिक्न सक्दैन । जनताले कर तिर्न सक्नुपरेन संघीयता चल्नलाई ? विदेशीले पनि कतिञ्जेल ऋण दिओस् । गाडी नयाँ भएपनि चालक सध्ये नभएमा लगेर भडखाँलोमा हाल्छ । त्यही हविगत मुलुकको भयो । प्राकृतिक रुपमा धनी मुलुकलाई नेताहरुले तहसनहस बनाइदिए ।
राजनीतिक दलहरु राजतन्त्रमा बोल्न पाइँदैनथ्यो भन्छन् । अहिले बोल्न पाइन्छ, स्वतन्त्रता पाइएको छ भनेर नेताहरु गौरव गर्छन । बोलेर पेट भरिन्छ ? बोलेर देश विकास हुन्छ ? त्यसो त वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि के के बोल्छन्, बोल्छन् । खोइ त पुरा भएको ?
जनता हिजो आफ्नै देशमा दुःख गरेर खाइरहेका थिए । आफ्नो खेतबारीमा काम गर्थें, परिवार पाल्थें । तर, प्रचण्डले देखि सहेनन् । छोरीलाई मेयर बनाए, बुहारीलाई मन्त्री । भाइलाई राष्ट्रिय सभाको अध्यक्ष त आफू प्रधानमन्त्री । आफू र आफ्नो परिवार ठाउँमा पुर्याइहाले, जनता जाऊन् भाँडमा ।
माओवादीका नेताहरुलाई अब जनताले चिन्न जरुरी छ । हिजो लुटेकाहरु आज आफूलाई समाजसेवी भनेर चिनाउँदै हिँडेका छन् । यस्ताबाट सचेत हुनुपर्छ।
