रवि लामिछानेले बुझाए २ करोड ७४ लाख जमानत

फाइल तस्वीर

काठमाडौं । सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले आफ्नो भागको बिगो बापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैङ्क जमानत अदालतमा बुझाएका छन् ।

थुनामुक्त हुन माग गर्दै तीन दिनअघि निवेदन दिएका उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ बमोजिम जमानतमा रिहाइको माग गरेका छन् । लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै सहकारी पीडितका लागि बिगो बापतको रकम तिर्न तयार रहेको बताएका छन् ।

उनको निवेदनमा अदालतले विपक्षीलाई जानकारी दिने आदेश गरेको छ, तर मङ्गलवार र बुधवार पेसी स्थगित भएको छ । यसअघि जिल्ला अदालत रुपन्देहीले माघ १३ मा लामिछानेलाई १ करोड धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २५ मा उक्त आदेश बदर गरी उनलाई थुनामा पठाएको थियो।

सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेश सदर गरेको छ। सुप्रिम सहकारी ठगीमा लामिछानेसहितका प्रतिवादीहरूमाथि १० करोड ९९ लाख बिगो कायम गरिएको छ।