जनार्दनले आत्मालोचना नगरेको भन्दै पार्टी–पंक्तिमा प्रचण्डको सर्कुलर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्माले आत्मालोचना नगरेको भन्दै तल्लो तहमा सर्कुलर पठाएका छन् । स्थायी समिति बैठकपछि अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले बैठकमा शर्माका सार्वजनिक अभिव्यक्तिबारे छलफल भए पनि उनले आत्मालोचना नगरेको सर्कुलर पार्टी पंक्तिमा पठाएका हुन् ।

अध्यक्ष प्रचण्डले बैठकको अन्तिमसम्म पनि स्थायी समितिका सदस्यहरूको सुझावलाई आत्मसाथ गरी कमजोरी सच्याउन विशेष आग्रह गरे पनि शर्माले नमानेको भनिएको सर्कुलरमा भनिएको छ ।

सर्कुलरको अंश–

स्थायी समिति बैठकमा आन्तरिक पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा पार्टीका केन्द्रीय उपमहासचिव क।जनार्दन शर्मा ‘प्रभाकर’का सार्वजनिक अभिव्यक्ति र गतिविधिबारे गम्भीर छलफल भयो । छलफलका क्रममा विशेषतः पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, पदाधिकारी बैठकमा उपमहासचिवका रूपमा माइन्युटमा हस्ताक्षर नगर्ने, गुटबन्दीजन्य गतिविधि सञ्चालन गरिरहने जस्ता कार्यहरू पार्टी नीति विपरित भएको ठहरसहित स्थायी समिति सदस्यहरूबाट क। प्रभाकरलाई उक्त क्रियाकलापहरूप्रति आत्मालोचना गरी गल्ती कमजोरी सच्याउन जोड दिइयो।

तर, कमरेड प्रभाकरले माइन्युटमा हस्ताक्षर नगरेको विषय बाहेक अन्य विषयमा ठोस रूपमा आत्मालोचना गर्नुभएन र उल्टै पार्टी नेतृत्वविरुद्ध निराधार आरोप लगाउनुभयो।

अतः स्थायी समिति बैठकले पार्टी नेतृत्वका विरुद्ध लगाइएका निराधार आरोपलाई खारेज गर्दै क। प्रभाकरलाई कडा आलोचनासहित भविष्यमा त्यसप्रकारका अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय गरेको छ । स्थायी समिति बैठकले आफ्ना भिन्न मत भए कमिटीमा विधिसम्मत छलफलको स्वतन्त्रता रहने विश्वास दिलाउँदै पार्टीलाई एकताबद्ध बनाइ अगाडि बढ्न पनि जोड दिएको छ।

प्रचण्डसमेतलाई इंगित गर्दै उपमहासचिव शर्माले मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट प्रधानमन्त्री असुली धन्दामा लागेको आरोप लगाएका थिए । त्यसपछि प्रचण्ड र र शर्माबीच सार्वजनिक रुपमै आरोप–प्रत्यारोप चलेको थियो।

केही दिनअघि सकिएको माओवादी स्थायी समितिको बैठक त्यसै विषयमा केन्द्रित भएको थियो। यही विषयलाई लिएर शर्मामाथि माफी माग्न दबाब परेको थियो। तर, उनले केही समयदेखि माइन्युटमा हस्ताक्षर नगरेको विषयलाई मात्रै स्वीकारे भने आत्मालोचना गरेनन्। सोही विषयलाई जोड दिएर प्रचण्डले पार्टी पङ्क्तिमा सर्कुलर पठाएका हुन्।