कैलाली कारागारमा झडप: छानविन गर्न समिति गठन

धनगढी । कैलाली कारागारमा भएको झडपको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ। शनिबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

उक्त समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त सदस्य छन्। त्यस्तै अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी पनि सदस्य रहेको छानबिन समितिलाई १० दिनको समय दिइएको छ।

‘उपयुक्त विधि अपनाई के कसो भएको हो आवश्यक छानबिन गरी प्रतिवेदन पेस गर्न’ समितिलाई निर्देशन दिइएको छ। शुक्रबार राति कैलाली कारागारमा भएको झडपमा १ जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ। एक जनाको आइसियुमा उपचार भइरहेको छ।

यसअघि उक्त कारागारमा बिहीबार पनि झडप भएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार कैदीबन्दीबीच आपसी गुटबन्दीका कारण विवाद सिर्जना भइ झडप भएको प्रहरीको भनाइ छ।