रामहरि खतिवडाले भने-‘पार्टीको दबाब थिएन, तर मनले मानेन’
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिन पार्टीले कुनै दबाब नदिएको बताएका छन्। मङ्गलवार प्रतिनिधिसभा बैठकमा राजीनामाको घोषणा गरेपछि संसद् भवनमा सञ्चारकर्मीको प्रश्नमा खतिवडाले राजीनामा दिन पार्टीले कुनै दबाब नदिएको बरु पार्टी सभापतिले पदमा नै बस्नु भनेको बताए। यद्यपि मनले नमानेपछि राजीनामा दिएको उनको भनाइ छ।
खतिवडाले कुलिङ अफ पिरियडसम्बन्धी छानबिन समिति बनेकै दिन सभापतिको हैसियतमा प्राप्त भएका सबै सेवा सुविधा समेत फिर्ता गरेको उल्लेख गरे। खतिवडाले कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा भएको त्रुटिको नैतिक जिम्मेवारी लिँदै मङ्गलवार पदबाट राजीनामा दिएका हुन्।
खतिवडाले राजीनामा दिनुअघि कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सम्झिए। प्रतिनिधिसभाको रोस्टममा उभिएर राजीनामा दिएका खतिवडाले भीम मल्ल र भीमसेन थापाजस्तै आफू पनि सिकार भएको अभिव्यक्ति दिए। सम्बोधनको क्रममा उनले पूर्वप्रधानमन्त्री भट्टराईले राजीनामा दिएको प्रसङ्ग उठाए।
‘आजभन्दा २६ वर्ष अगाडि २०५६ साल चैत ३ गते रोस्टममा उभिएर हाम्रा परम आदरणीय नेता कृष्णप्रसाद भट्टराईले प्रधानमन्त्री पदबाट राजीनामा दिँदा बोल्नुभएको अभिव्यक्ति आज मलाई झल्झल्ती याद आएको छ।
उहाँले बोलेका भावुक शब्द आज पनि मलाई कानमा गुन्जिरहेका छन्। उहाँले भावुक हुँदै भन्नुभएको थियो।देशभक्ति दण्डित हुने भीम मल्ल, भीमसेन साथाका कथा व्यथाको अभिशब्द इतिहासबाट हामी नेपालीले कहिले छुटकरा पाउने हो रु के प्रजातन्त्रको लडाइँको तात्पर्य कुटिल खेल बिर्सजन र पारदर्शिता प्रदर्शन गर्ने मात्र हो ? उनले प्रश्न गरे ।
‘कुलिङ अफ पिरियड’ राख्नुपर्छ भनेर बढी जो उभियो उही दण्डित हुनुपर्ने कतै न कतै इतिहास लेखिने छ कि भनेर मलाई चिन्ता लागेको उनले बताए ।
उनले सो विषयमा समतिमा रहेको कसैको गल्ती नरहेको दाबी गरे । उनले भने, ‘कृष्णप्रसाद भट्टराईबाट शिक्षित अनुयायी हुँ म। नखाएको विष लाग्दैन।
आजको मितिमा पदलाई भन्दा प्रश्नलाई माथि राखेर प्रतिवेदन सबैले पढ्नुहोला। त्यसमा मलाई न मुख्य दोषी ठहराइएको छ न राजीनामा उल्लेख गरिएको छ।
न प्रचलित कानुनबमोजिम कारबाही गर्नुपर्छ भनेर सिफारिस गरिएको छ । यद्यपि जिम्मेवार भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट हाँसी हाँसी राजीनामा दिएको घोषणा गर्छु।
