विदेश जान १८ वर्षमै पासपोर्ट,बिहे गर्न चाँहि किन २० वर्ष ?

सरकारले पाँच वर्षअघि अर्थात् २०७८ सालमा जनगणना गर्यो । दुई करोड ९१ लख ६४ हजार ५७८ जनसंख्या रहेको विवरण सार्वजनिक गरियो। यो जनसंख्यामा अहिले थपघट भइसक्यो । किनकि कतिपयको मृत्यु भइसक्यो भने कतिपयले नेपाली नागरिकता नै त्यागेका छन् । गाउँदेखि शहरसम्म मृत्युदर बढ्दा जन्मदर भने घट्दो क्रममा छ।

मुलुकको कानूनअनुसार २० वर्ष पूरा पुगेपछि मात्र विवाह गर्न पाइन्छ। बिहे गर्न २० वर्ष कट्नु पर्दा विदेशिन भने १८ वर्षमै सरकारले राहदानी दिने गरेको छ। अहिले देशका युवा १८ वर्ष पुग्नेबित्तिकै वैदेशिक रोजगारी तथा शिक्षाका निम्ति विदेशिने क्रम ह्वात्तै बढेको छ । विकसित मुलुक अमेरिका, अस्ट्रेलिया, क्यनाडा गएकाहरु फर्किदैँनन्।

यहाँबाट शिक्षाका लागि भन्दै गएका उनीहरु केही वर्षमा उतै सेटल हुन्छन्। जन्मभूमिको नागरिकता त्यागेर ग्रिनकार्ड, पिआर लिन्छन् अनि यहाँ भएको सम्पत्तिसमेत बेचेर उतै लैजान्छन् । नेपाली नागरिकता त्याग्नेको क्रम वर्षेनी बढिरहेको छ । खाडी मुलुक तथा युरोपमा कामका निम्ति गएकाहरु तीनदेखि पाँच वर्षसम्म बस्छन्।

विदेशमा रगतपसिना बगाएर धन कमाएर त उनीहरु नेपाल फर्किन्छन् । तर, बिहे गर्दा खोज्दा केटाले केटी र केटीले केटा पाउँदैनन् । खाडी देशबाट फर्किएकालाई मानिसहरुले हत्तपत्त आफ्नो छोराछोरी दिँदैनन् । उनीहरुमाथि अनेकौं शंका गर्छन् । यता, बिहे हुन नसक्दा वा काम नपाएपछि उनीहरु फेरि विदेश नै जान्छन्।

कतिपय पहिला गएकै देश जान्छन् त कतिपय अन्य मुलुक । विदेशमा दशक बिताउँछन् । उनीहरुको बिहे गर्ने उमेर नै कट्छ । अर्कोतर्फ, धेरैलाई रोगले च्यापछ । त्यो पनि गम्भीर । रोग लागेपछि त झन् बिहे गर्न कोही नै पाइँदैनन् अनि उनीहरुको वंश नै नासिन्छ । विदेश गएर मानिसहरुले धनसम्पत्ति त कमाउँछन् तर आफ्नो वंश सिद्धाउँछन्, रोगको भारी बोकेर आउँछन् ।

विदेशमा कमाएको पैसा उनीहरुलाई उपचार गर्दागर्दै पनि पुग्दैन । यता, बिहे गरेर विदेश गएकाहरुको पनि घरपरिवार लथालिंग देखिन्छ । श्रीमान विदेश भएमा यता श्रीमती अर्कैसँग लाग्ने, श्रीमती उता भएमा श्रीमान यता अर्कैसँग सम्बन्ध राख्ने अथवा विदेशमै पनि अवैध सम्बन्धमा बस्ने। धेरै मानिसहरुको यसरी घरपरिवार बिग्रिएको छ ।

विदेश गएका धेरैजसोको विवाहको केही महिना हुन नपाउँदै डिभोर्स भएका घटना पनि थुप्रै छन् । नेपालीहरुले विदेश गएर धनसम्पत्ति त कमाए, देशको अर्थतन्त्रमा योगदान पुर्याए तर उनीहरुको पारिवारिक जीवन भने तहसनहस बनेको छ । यद्यपि, सरकारको भने यसतर्फ चासो पनि देखिँदैन । पहिलेपहिले विदेश जाने चलन थिएन ।

स्वदेशमै दुःख, सुख गरेर कमाइन्थ्यो । खाइन्थ्यो । अर्कोतर्फ, बिहे पनि छिट्टै गरिदिइन्थ्यो । १६ वर्ष पुग्न नपाउँदै आमाबुबाले आफ्ना छोराछोरीको बिहे गरिदिन्थे । बिहेको केही वर्षमा बालबच्चा हुन्थे । एउटै व्यक्तिको दश–१२ वटासम्म सन्तान हुन्थ्यो । यसो हुँदा कुनै सन्तान अकालमै बितेपनि उसको वंश नासिदैँन्थ्यो ।

ती सन्तानले देशभित्रै काम गरेर अर्थतन्त्रमा योगदान पुर्याउँन्थे । तर, पछिल्लो समय त बिहे नै नगर्ने चलन बढेको छ । अहिले त मानिसहरु बिहेलाई बोझका रुपमा हेर्छन् । बिहे गरेमा जीवन नै बर्बाद हुन्छ भन्ने मानसिकता बढ्दै गएको छ । शुरु बिहे गर्दैनन् । अनि बल्लतल्ल बिहे गरेपनि बच्चा जन्माइदैँन ।

बच्चा जन्माएमा पाल्न सकिँदैन, जिम्मेवारी बढ्छ भन्ने सोचाई मानिसहरुमा आएको छ । केही गरी बच्चा जन्माइहाले पनि एउटादेखि बढीमा दुईटा । ती सन्तानको पालनपोषणमा अभिभावकले भरपुर खर्च गर्छन् । एउटा मात्र सन्तान भएपछि उसले जे भन्छ, अभिभावकले त्यही गरिदिन्छन् ।

अनि धेरैजसोको सन्तान गलत बाटोमा हिँड्छन् त कतिपयको अकालमै विभिन्न कारणले मृत्यु हुन पुग्छ । र, उनीहरुको वंश नै नासिन्छ । अहिले त बिहे गर्ने बेला अभिभावकले आफ्नो छोराछोरीलाई विदेश पठाउने गरेका छन् भने सरकार उनीहरुलाई विदेश जाऊ भनेर राहदानी दिन्छ ।

यता, देशभित्रै सरकारी सेवा, राजनीति, व्यापार व्यवसाय वा विभिन्न काम गर्नेहरु पनि बिहे नै गर्दैनन् । गाउँ र शहर पूरै खाली भइसक्यो । पहिला गाउँ मात्र खाली थियो, अहिले त शहर पनि रित्तिएको छ । करोडौं नेपाली विदेशमा छन् । मुलुकमा नेपालीभन्दा पनि भारतीय र विदेशी बढी देखिन्छन् । तर, उनीहरु रमाउन होइन, कमाउन नेपाल छिरेका छन् ।

देशभित्र दक्ष जनशक्तिको अभाव हुँदा विदेशबाट मान्छे ल्याएर काम गराउनुपरेको छ । यता, भारतीयहरुको हरेक क्षेत्रमा सहभागिता देखिन्छन् । चटपट बेच्नेदेखि अन्य व्यापार व्यवसाय र बैंक, वित्तिय संस्थामा समेत भारतीयहरुको उपस्थिति बढ्दो क्रममा छ । नेपालीहरु कमाउनका निम्ति विदेश गइरहँदा भारतीयहरुले यहीबाट वार्षिक खर्बौ रेमिट्यान्स आफ्नो देश लगिरहेका छन् ।

अहिले दैनिक साढे दुई हजारदेखि तीन हजारसम्म युवाहरु विदेश पलायन भइरहेका छन् । वर्तमान सरकारमा केपी शर्मा ओली प्रधानमनत्री छन् । उनी विवाहित हुन् तर उनका एउटै सन्तान छैनन् । दशौं रोपनी जग्गामा भक्तपुरको बालकोटमा उनको दरबारजस्तो घर छ ।
तीन करोडको घडी हातमा बाँध्छन्, सात लाखको कोट अनि डेढ लाखको जुत्ता । दिनमै ७० हजारको विदेशी पानी त उनी पिउँछन् । काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पनि एउटै पुत्र छन् । उनको पनि दशौं रोपनी जग्गामा बनेको महलजसतै घर छ ।

आफूलाई त्यागी नेता देखाउन राजनीतिमा लागेका धेरैजसो बिहे नै गर्दैनन् । यसका उदाहरण हुन् काँग्रेस सांसद रामहरि खतिवडा । चुनावका बेला आफूले देश र जनतालाई नै आफ्नो जीवन समर्पण गरेको भन्दै भोट माग्छन् । अनि एउटा स्वास्नी पाल्न नसक्नेले देश कसरी बनाउन सक्छ?

केही दिनअघि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीका नेता–कार्यकर्ताले आफ्ना सन्तानलाई सरकारी विद्यालयमै पढाउनुपर्ने र शिक्षाका निम्ति विदेश पठाउन नमिल्ने बताए । यद्यपि, उनी देशमा युवा घटे, सन्तान बढाउनुपर्छ भनेर चाँहि बोलेनन् ।

त्यसो त प्रचण्डको हातमा ७८ लाखको घडी छ । चर्चामा आउन माओवादीका नेता–कार्यकर्ताले आफ्ना सन्तानलाई स्वदेशमै सरकारी स्कुलमा पढाउनुपर्ने भनेपनि उनले हरेकको सम्पत्ति छानबिन गर्छु भनेर चाँहि भनेन् । किनकि सम्पत्ति छानबिन गर्नेबित्तिकै शुरमा प्रचण्ड नै भ्रष्टाचारी ठहरिनेछन् ।

नेताहरु जनताको कर र रेमिट्यान्समा मोजमस्ती गर्ने । आफ्नो स्वार्थ परिपूर्तिका निम्ति देशै जोखिममा राखिदिने । अनि जनताका छोराछोरी चाँहि बिहे गर्ने बेला विदेश पलायन हुनुपर्ने । विदेश गएका कोही बाकसमा फर्किन्छन् त जीउँदै फर्किएकाहरुको बिहे नभएर वंश नासिन्छ । जनता साह्रै सोझा भए ।

राज्यको ढुकुटीमा जनताले जम्मा गरेको पैसाले मात्र नपुगी देशै धितो राखेर नेताहरुले मोजमस्ती गरिरहँदा जनता चुपचाप छन् । उल्टै आफ्ना छोराछोरीलाई कमाऊ, रेमिट्यान्स पठाऊ भनेर विदेश पठाइरहेका छन् । त्यो रेमिट्यान्समा पनि त यिनीहरुले नै मोजमस्ती गर्ने हो ।