दशरथ रङ्गशालामा सुरु भयो सुकुम्वासीको विवरण संकलन
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्रका मुख्य सुकुम्वासी बस्तीहरू खाली गराउने अभियान सुरु गरेको छ।शनिवार बिहानैदेखि थापाथलीस्थित बागमती नदी किनारका सुकुम्वासी बस्ती हटाउन थालिएको हो। अभियानअन्तर्गत प्रभावित स्थानका बासिन्दाहरू धमाधम सरकारी सम्पर्कमा आउन थालेका छन्।
सरकारी तथ्यांकअनुसार शनिवार २ बजेसम्म २३ परिवार सरकारी निकायको सम्पर्कमा आएका छन् । ती परिवारहरूले आफ्नो विस्तृत विवरण सरकारी टोलीलाई बुझाएका छन्।
यस्तै प्राथमिक स्वास्थ्य उपचारका लागि काठमाडौं महानगरपालिकाको वडा नं. ११ को बबरमहल, वडा नं. ३१ को भीमसेनगोला र वडा नं.३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्र खुला रहेका छन्,जहाँ सामान्य प्राथमिक उपचार प्रदान गरिँदै छ।
होल्डिङ सेन्टरमा आएका सुकुम्वासीहरूका लागि प्राथमिक उपचारको पनि व्यवस्था मिलाइएको छ। सरकारले विवरण संकलन र उनीहरूको ‘स्क्रिनिङ’का लागि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा विशेष व्यवस्था गरेको छ।
विभिन्न स्थानका सुकुम्वासीहरूका लागि फरक-फरक डेस्क स्थापना गरी विवरण संकलन कार्य भइरहेको छ । सरकारी टोलीकाअनुसार रङ्गशालामा विवरण संकलन कार्य सम्पन्न भएपछि ती परिवारहरूलाई कीर्तिपुरस्थित राधास्वामी आश्रममा स्थानान्तरण गर्ने तयारी गरिएको छ । उनीहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारी संयन्त्रले कामलाई तीव्रता दिएको छ।
उपत्यकाको सौन्दर्यीकरण र नदी किनारको अतिक्रमण हटाउने उद्देश्यसहित केही समय यता सरकारले निरन्तर रूपमा सुकुम्वासी बस्ती हटाउने दाबी गर्दै आएको छ।
