यूएईमाथि नेपालको सानदार जित
काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै सानदार जित दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार सम्पन्न खेलमा नेपालले दिएको २०१ रनको विजयी लक्ष्य पछ्याएको यूएईलाई १६३ रनमा समेट्दै नेपालले रोमाञ्चक जित निकालेको हो। नेपालको जितमा दीपेन्द्र सिंह ऐरीको अर्धशतकीय पारी र बलरहरूको कसिलो प्रदर्शन निर्णायक बन्यो।
युएका लागि हरप्रित सिंहले ३९, मुहम्मद वसीमले ३४,अक्षदीप नाथले ३० तथा आर्यान्स शर्माले १८ रन जोडे। निलान्स केसवानीले १८ रन जोडे।
बलिङतर्फ नेपालका करण केसीले ९.२ ओभरमा २ मेडेनसहित १९ रन खर्चेर चार विकेट लिए । यस्तै, सन्दीप लामिछानेले १० ओभरमा २ मेडेनसहित २५ रन खर्चेर दुई विकेट लिँदा सोमपाल कामीले ९ ओभरमा ५० रन खर्चेर दुई विकेट लिए । दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले एक–एक सफलता हात पारे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ४८,२ ओभरमा २०० रनमा अलआउट भयो। दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्दै ७६ रन जोडे। ९० बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।
यस्तै, कुशल भुर्तेलले २४, करण केसीले २२, आरिफ शेख र सोमपाल कामीले १५–१५ रन जोड्दा भीम सार्कीले १० रन बनाए। अन्य ब्याट्म्यानले दोहारो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ यूएईका जुनैद सिद्धिकीले ९,२ ओभरमा ३ मेडेनसहित ३३ रन खर्चेर तीन विकेट लिए भने अजय कुमारले ९ ओभरमा ३४ रन खर्चेर तीन विकेट लिए । यस्तै, खुजैमा तनवीरले दुई तथा हैदर अली र मुहम्मद शहदादले एक–एक विकेट लिए। नेपालले अब अर्को खेलमा बुधवार ओमानसँग खेल्नेछ।
