नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना गरेको छैन: गृहमन्त्री लेखक
काठमाडौं। गृहमन्त्री रमेश लेखकले नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना नगरेको स्पष्ट पारेका छन्।
विधायन व्यवस्थापन समितिको बिहीवारको बैठकमा बोल्दै उनले गोरखा भर्तीका सन्तानले नेपालको नागरिकता पनि वंशजका आधारमा पाउनुपर्ने भन्दै माग गरेका बताए। तर सरकारले भने दुई देशको नागरिकता दिन नसकिने बताउँदै आएको छ।
उनले कुनै नेपाली नागरिक विदेशको नागरिकता प्राप्त गरेको छ भने नेपालको नागरिकता स्वतः समाप्त हुने बताए।
यदी नेपालको नागरिकले विदेशको नागरिकता लिइसकेको छ र पुनः नेपालको नागरिकता लिन चाहन्छ भने जुन देशको नागरिकता लिएको छ, त्यो देशको नागरिकता छोडेको डकुमेन्ट ल्याएर नेपालमा दर्ता गर्यो भने त्यसै दिनदेखि नेपालको नागरिकता कायम हुने व्यवस्था वर्तमान ऐनले गरेको उनले बताए। उनले दुवै देशको नागरिकता राख्न दिने हो भने संविधान संशोधन गर्दा पहल गर्नुपर्ने बताए।
