कुवेतमा रक्सी पिउँदा ६ नेपालीको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौं । कुवेतमा अवैध तथा विषाक्त मदिरा पिउँदा ६ जना नेपालीको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लका अनुसार विशाक्त मदिरा सेवन गरेर मृत्यु हुनेमा ५ पुरुष र एक महिला रहेका छन् ।

कुवेतस्थित नेपाली दूतावासले पनि यस घटनाको पुष्टि गर्दै थप विवरण आउन बाँकी रहेको र बुझ्ने काम भइरहेको जनाएको छ ।

साथै बिरामी भएकाहरूको आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा उपचार भइरहेको दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले जानकारी दिए ।

यसअघि कोरोना संक्रमणकालमा पनि यस्तै मदिरा सेवन गर्दा १२ जना नेपालीको ज्यान गएको थियो । गत शनिवारदेखि विषाक्त मदिरा पिएर अस्पताल भर्ना हुने क्रम बढेको कुवेती समाचार संस्था कुवेत टाइम्सले उल्लेख गरेको छ ।

विषाक्त मदिरा सेवनका कारण बुधवारयता ६३ जना अस्पतालमा भर्ना भएको र १३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको समाचारमा उल्लेख छ । ६ नेपाली बाहेक मृत्यु हुने ७ जना एसियाली मुलुकका रहेको समाचारमा उल्लेख छ ।

कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित छ । तर, पनि लुकिछुपी उत्पादन गरी अवैधानिक रूपमा बेचबिखन हुँदै आएको छ। विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।