आम नागरिकको अधिकार सुनिश्चित गर्न ऐन संशोधन गर्नुपरेको होः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आमाको नामबाट मात्र पनि सन्तानलाई नागरिकता दिने कानुनी व्यवस्था गर्न नागरिकता ऐन संशोधन विधेयक प्रस्ताव गरिएको बताउनु भयाे। शुक्रबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको छलफलमा सहभागी हुँदै उहाँले यस्ताे जानकारी दिनुभएको हो।

गृहमन्त्री लेखकले संविधानले आमा र बाबु दुवैको नामबाट नागरिकता दिने व्यवस्था गरे पनि व्यावहारिक रूपमा कार्यान्वयन नहुँदा देशका हजारौं नागरिक नागरिकताबिहीन बन्नुपर्ने समस्याको स्थायी समाधान गर्न यो विधेयक तयार पारिएको बताउनुभयो।

उहाँका अनुसार बाबु विदेशी भएर आफ्नो देश फर्किएमा वा स्वदेशमै रहेर पनि सहयोग नगर्ने परिस्थितिमा आमाले सन्तानलाई आफ्नो नामबाट नागरिकता दिन पाउने संवैधानिक अधिकार सुनिश्चित गर्ने उद्देश्यले विधेयक केन्द्रीत रहेको छ।

प्रस्तावित संशोधन विधेयकमा बाबाको बेपत्ता भएको वा पहिचान नखुलेको अवस्थामा आमाको स्वघोषणाका आधारमा नागरिकता दिने व्यवस्था समेत गरिएको गृहमन्त्रीले स्पष्ट पार्नुभयो। यस्तो व्यवस्थाले विशेषगरी ती महिलाहरूलाई राहत पुर्याउने छ जसका पतिले नागरिकता दिलाउन सहयोग गर्दैनन् वा जसका पतिको ठेगाना नै थाहा छैन।

गृहमन्त्री लेखकले समितिका सदस्यहरूलाई विधेयकमा रहेका कमजोरीहरूलाई सुधार गर्दै यसलाई छिटो पास गर्न आग्रह गर्नुभयो। उहाँले यो विधेयक पारित भएपछि नेपालमा नागरिकताको समस्या समाधानमा ऐतिहासिक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नेपालमा नागरिकताको समस्या लामो समयदेखि विवादास्पद मुद्दा बनेको छ। विशेषगरी दलित, जनजाति र सीमावर्ती क्षेत्रका महिलाहरू यस समस्याबाट बढी प्रभावित भएका छन्। यो संशोधन विधेयकले यस्ता समुदायका हजारौं महिला र बालबालिकालाई नागरिकताको अधिकार दिलाउने अपेक्षा गरिएको छ।