टप एन्ड टि २०: नेपाल पहिलो खेलमै पराजित
काठमाडौं। नेपाल टप एन्ड टी-२० सिरिजको पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइक (एनटिएस)सँग ४२ रनले पराजित भएको छ।
अष्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड टुमा १ सय ७८ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ३५ रनमा समेटियो।
नेपालले कमजोर सुरुवात गर्यो। मात्र २५ रन जोड्दा ३ विकेट गुमाउन पुग्यो। ओपनर कुशल भुर्तेल ८ रनमा, लोकेश बम रनको खाता नखोली र आशिफ शेख ११ रनमा आउट भए।
कप्तान रोहित पौडेल र कुशल मल्लले चौथो विकेटको लागि मात्र ३५ रनको साझेदारी गरे। रोहित २३ रनमा र २६ बल खेलेर कुशल पनि सर्वाधिक ३४ रनमा आउट भए।
त्यसपछि पनि निरन्तर अन्तरालमा विकेट झर्यो। गुलशन झा २६ रनमा, दीपेन्द्र सिंह ऐरी १९ रनमा र सोमपाल कामी १ रनमा आउट भए। यो सँगै नेपाल १ सय ३५ रनमा समेटियो।
एनटिएसका म्याट हामोन्डले ४ ओभरमा १ मेडन सहित मात्र २१ रन दिएर ३ विकेट लिए। केन रिचार्डसन र थोमस एन्ड्रयुजले समान २ विकेट लिए।
त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको एनटिएसले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७७ रनको योगफल तयार पार्यो।
डि आर्की सर्ट र जेक वेदरलाडले पहिलो विकेटको लागि ४६ रनको साझेदारी गरे। जेक ११ रनमा आउट भए। सर्टले अर्धशतक बनाए। उनले ३४ बल खेल्दै ७ चौका र १ छक्का सहित ५१ रनको उत्कृष्ट पारी खेले।
थोमस एन्ड्रयुज अविजित ३३ रनमा क्रिजमा रहे ।जोर्डन सिल्कले १९ र कोनर कारोलले १८ रन बनाए।
नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। यस्तै सहाब आलामले २ तथा रूपेश कुमार सिंह, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले ११ विकेट लिए।
अष्ट्रेलियाको एनटिएसले आयोजना गरेको यो सिरिजमा नेपालको पहिलो सहभागिता हो। सहभागी प्रत्येक टोलीले लिग चरणमा ६ खेल खेल्नेछन्। अब नेपालले भोलि बङ्गलादेशको ‘ए’ टिमसँग खेल्नेछ। हरेक टोलीले लिग चरणमा ६ खेल खेल्नेछ।
