शिक्षकको हत्या गर्ने व्यक्ति भाग्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा पक्राउ परे

काठमाडौं । सर्लाहीमा एक शिक्षकको गोली हानी हत्या भएको छ । प्रहरीका अनुसार शिक्षक रामपुकार यादवको हत्या भएको हो। राति साढे ८ बजे मोटरसाइकलमा आएका हतियारधारीले यादवको घरअगाडि गोली प्रहार गरी फरार भएका थिए।

टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । गोली प्रहार गर्ने एक जना सन्दिग्ध प्रहरीले पक्राउ गरेको छ, तर उनको नाम सार्वजनिक गरिएको छैन।

भाग्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा ती व्यक्ति पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार पक्राउ परेका व्यक्ति पनि दुर्घटनामा गम्भीर घाइते भएका छन् र उनलाई लालबन्दीस्थित मोडेल अस्पतालबाट थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनामा संलग्न अन्य केही व्यक्ति फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।