१५ लाख २३ हजार बोरा रासायनिक मल कोलकाता बन्दरगाहमा

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा प्राप्त भइसकेको र ती मल धमाधम नेपाल ल्याउने क्रम जारी रहेको जनाएको छ।

कर्पोरेसनले हालै मात्र चार लाख ४० हजार बोरा युरिया र १० लाख ८३ हजार बोरा डीएपी गरी १५ लाख २३ हजार बोरा रासायनिक मल आयात गरेको थियो।

गोदाममा आइरहेका उक्त मल कोटा वितरणका लागि प्रदेश सरकारलाई पत्राचार गरिसकेको र प्रदेश सरकारहरूद्वारा पालिकालाई कोटा वितरण भइसकेको भन्ने जानकारी पाएको कर्पोरेसनले बताएको छ।

रासायनिक मलको पछिल्लो अवस्थाका बारेमा कर्पोरेसनद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कर्पोरेसनको मल बिक्रेताका रूपमा दर्ता भएका सम्पूर्ण डिलरहरूलाई आफ्नो पालिका तथा कर्पोरेशनको सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटाअनुसारको मल बिक्री वितरण गर्न अनुरोध गरिन्छ।

हाल बजारमा रासायनिक मलको अभाव भएको भनी विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा समाचार तथा पोष्ट भइरहेकामा कर्पोरेसनले विज्ञप्तिमार्फत आफ्नो ध्यानाकर्षणसमेत भएको जनाएको छ।