रवि लामिछानेलाई आजै काठमाडौं ल्याइँदै
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं सरुवा गरिँदै छ। उनलाई आज दिउँसो ३:१० को बुद्ध एयरको उडानमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको जनाएको छ।
बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा थिए। उनले गत जेठमा नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए, जसलाई अदालतले स्वीकृति दिए पनि गृह प्रशासनले रोकेको थियो।
राष्ट्रिय मानव अधिकार आयोगको टोलीले केही दिनअघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यान असुरक्षित रहेको बताएका थिए। सोही कारण सरकारले उनलाई काठमाडौं स्थानान्तरण गर्न सहमत भएको हो।
