पूर्वमुख्यमन्त्री सोडारी भ्रष्टाचार मुद्दामा धरौटीमा रिहा

काठमाडौं । विशेष अदालतले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीसँग अकुत सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा एक लाख रुपैयाँ धरौटी माग गरेको छ। सोमबार अदालतमा उपस्थित भएका सोडारीलाई बयान र थुनछेक बहसपछि एक लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध गैरकानुनी रूपमा एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँ सम्पत्ति आर्जन गरेको आरोपमा गत १९ जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

सोडारी ६ वैशाख २०८१ देखि २० साउन २०८१ सम्म करिब तीन महिना सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री थिए। यसअघि उनी प्रदेशको भौतिक पूर्वाधारमन्त्री थिए। नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका सोडारी हाल प्रदेश सभा सदस्य छन्, तर भ्रष्टाचार मुद्दापछि उनको सदस्य पद निलम्बनमा परेको छ।