आज मेलबर्न रेनेगेड्ससँग प्रतिस्पर्धा गर्दै नेपाल
काठमाडौं । टप एन्ड टी–२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले आज मेलबर्न रेनेगेड्स एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ ।
डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ ।
नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् ।
नेपालले चार खेल खेलेकोमा एक खेलमा मात्र जित निकालेको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो।
मंगलबार भएको चौथो खेलमा भने नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको थियो । नेपालले जितको लयलाई निरन्तरता दिने लक्ष्यका साथ आज मैदानमा हुनेछ ।
मेलबर्नले भने ३ खेल खेल्दा २ जित निकालेको छ । ११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६–६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइल खेल्नेछन्।

