एनपीएलको दोस्रो संस्करण मंसिर एकबाट सुरु हुने
काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि सुरु हुने भएको छ। नेपाल क्रिकेट संघले दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना हुने घोषणा गरेको हो।
प्रतियोगिताको तयारी स्वरूप सम्पन्न मिनी अक्सनमार्फत् आठ वटै फ्रेन्चाइज टोलीले ११ सदस्य स्वदेशी खेलाडीको स्क्वार्ड तयार परिसकेका छन्। हाल टोलीहरुले विदेशी खेलाडी भित्र्याउने प्रक्रिया सुरु गरेका छन्।
पहिलो संस्करणको एनपीएलले उल्लेखनीय सफलता हात पारेपछि यस पटकको लिगलाई झन् भव्य बनाउने क्यानको तयारी छ।
नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक रात्रीकालीन खेलहरु फ्लडलाइटमा गरिने छन् भने टीयू क्रिकेट मैदानमा १० हजार दर्शक क्षमताको प्यारापिट निमार्णको कार्यसमेत अन्तिम चरणमा पुगेको छ।
प्रतियोगितामा लिग चरण, प्लेअफ र फाइनल गरी कुल ३२ खेल हुने छन्। क्यानले चाँडै प्रतियोगिताको खेल तालिकासमेत सार्वजनिक गर्ने तयारी थालेको छ। पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स च्याम्पियन बनेको थियो।
