आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन
काठमाडौं । आज कुशे औँसी, अर्थात् ‘बुबाको मुख हेर्ने औँसी’। हिन्दु संस्कृतिमा पितृप्रति सम्मान, सम्झना र समर्पणको विशेष दिन हो । जसरी आमाको मुख हेर्ने दिनमा आमालाई र गुरु पूर्णिमामा गुरुलाई सम्झिन्छौँ, त्यसैगरी यो दिन पिताको योगदानको कदर गर्ने दिन हो ।
जीवनको यात्रामा बुबाले हामीलाई हात समातेर हिँड्न सिकाए, सुरक्षा र कर्मको पाठ पढाए । आमा–बुबा हाम्रा लागि प्रत्यक्ष देखिने भगवान् हुन्, जसप्रति हाम्रो कर्तव्य र प्रेमले जीवनलाई अर्थपूर्ण बनाउँछ ।
यो दिन छोराछोरीले आफ्ना पितालाई मिठाई, फलफूल, कपडा आदि उपहार दिन्छन् । परदेशमा रहेकाहरूले फोनमार्फत सम्झना गर्छन् । भौतिक रूपमा नरहेकाहरूलाई गोकर्णेश्वर महादेव, बेत्रावती, देवघाट, विष्णुपादुका, वराहक्षेत्र जस्ता तीर्थस्थलमा श्राद्ध, तर्पण र दान गरेर सम्झना गरिन्छ । यी कार्यले पितृप्रति आध्यात्मिक सम्मान व्यक्त हुन्छ।कुशे औँसीमा कुशको विशेष महत्त्व छ।
प्राचीनकालमा पाठशालामा कुश काट्ने परीक्षा लिइन्थ्यो, जसले कुशको धारिलो घाँस हात नकाटीकन काट्न सक्थ्यो, ऊ अब्बल मानिन्थ्यो । कुश देवकर्म र पितृकर्ममा अनिवार्य छ । श्रीमद्भागवत् गीता, गरुड पुराण, अथर्ववेद र विष्णु पुराणमा कुशको महिमा वर्णन गरिएको छ ।
वैज्ञानिक अध्ययनले कुशले वातावरणका हानिकारक विकिरणलाई अवशोषित गर्ने प्रमाणित गरेको छ । दाहिने हातको औँलामा कुशको औँठी लगाउँदा नकारात्मक तरङ्गलाई निस्तेज पार्ने विश्वास छ ।
आधुनिकताको प्रभावमा सनातन संस्कारलाई कम आँक्नेहरूले पनि अहिले यसको वैज्ञानिक र व्यावहारिक महत्वलाई आत्मसात् गर्न थालेका छन् । कुशे औँसीले पितृ सम्मानसँगै हाम्रो वैदिक संस्कारको वैज्ञानिक आधारलाई उजागर गर्छ ।

