अमेरिकी उपनिवेशवादी दबाबको सामु सरकारले घुँडा टेक्यो: महासचिव विप्लव
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)परियोजनाबारे नेपाल सरकारले अमेरिकी उपनिवेशवादी दबाबको सामना गर्न नसकेको आरोप लगाएका छन्।
आइतवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले संसदबाट एमसीसी अनुमोदन गर्नु सरकारको आत्मसमर्पणवादी कदम भएको टिप्पणी गरेका हुन्।
उनले सरकार अमेरिकी उपनिवेशवादी दबाबसामु टिक्न नसकेका कारण एमसीसी संसदबाट अनुमोदन हुनु स्वाभिमानी नेपाली नागरिकका लागि पीडादायी दृश्य रहेको स्मरण गरे।
उनले संसदभित्र एमसीसीको पक्षमा मतदान गर्ने सांसदहरूको व्यवहार जनताले अस्वीकार गरेको भन्दै त्यसलाई कुरूप आत्मसमर्पणको संज्ञा दिए। एमसीसी नेपालको संविधान र कानून अनुकूल नभएको पनि उनको टिप्पणी छ।
उनले एमसीसी परियोजनाको पारदर्शितामा समेत नागरिकको विश्वास नरहेको उल्लेख गर्दै परियोजनाका लागि खरिद गरिएका गाडी, कर्मचारीको तलब र खर्च नेपाली नागरिकका लागि अचम्मलाग्दो भएको बताए।
परियोजना कार्यान्वयनका लागि जमिन अधिग्रहणका विषयमा स्थानीयको गुनासो र आक्रोशको बेवास्ता गरिएकोमा नागरिकमा अझै पनि असन्तोष र आक्रोश व्याप्त रहेको उल्लेख गरे।
