‘फ्लाइङ कार’ भन्दै ड्रोन देखाएर प्रधानमन्त्रीलाई झुक्याइयो

काठमाडौं । डुबिसकेको नाडाको अटो शो फ्लाइङ कारको चर्चाले एकाएक माथि उठ्यो । नाइमाको अटो शो सफलतापछि नाजुक बनेको नाडाको अटो शोमा फ्लाइङ कारको चर्चाले सबैको ध्यान खिचेको थियो ।

ठूलो तामझामका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरी यसको प्रशंसा समेत गरेका थिए । तर ‘फ्लाइङ कार’ वास्तवमा कार नभई उच्च क्षमताको ड्रोन रहेको बताइएको छ । फ्लाइङ कार हेर्नका लागि मात्रै प्रधानमन्त्री ओली नाडा अटो शो उद्घाटन गर्न गएका थिए ।

प्रधानमन्त्रीले ‘फ्लाइङ कार’ मुनि चक्का छ कि छैन भनेर प्राविधिक दृष्टिले पनि उक्त कार रुचिपूर्वक अवलम्बन गरेका थिए । तर उक्त फ्लाइङ कार कार नभई ड्रोन थियो । यसबारेमा प्रधानमन्त्री पनि ‘कन्फ्युज’ भएका थिए । उनलाई प्रदर्शनस्थलमा फ्लाइङ कार बताएर ‘उल्लु’ बनाइएको थियो ।

प्रधानमन्त्रीजस्तो व्यक्तिलाई झुक्याएर अटो शो उद्घाटन गर्न लगाउने आयोजकहरुको चतु¥याइलाई मान्नै पर्छ । अझ कतिसम्म भने उक्त ‘फ्लाइङ कार’ उडाउन नेपालमा कानुन निर्माण गर्नुपर्नेसम्मका सुझाव दिएका थिए ।

जानकारहरूले केही मिनेट मात्र उड्न सक्ने, तर सडकमा गुड्न नसक्ने उच्च क्षमताको ड्रोनलाई नाडाले फ्लाइङ कार भनेर चर्चामा ल्याएको बताएका छन् । त्यसपछि सामाजिक सञ्जालदेखि सवारीसाधन प्रयोगकर्ता समेतले यसबारे व्यंग र टिप्पणी गरेका छन् ।

वास्तविकतामा यो दुई जना मानिस बोक्न सक्ने र करिब १५ मिनेटसम्म मात्र उड्न सक्ने उच्च क्षमताको ड्रोन भएको जानकारहरूले बताए।

विश्वमा उड्ने र गुड्ने दुवै क्षमता भएका वास्तविक फ्लाइङ कारहरू निर्माण भइसकेका छन् । तर त्यस्ता कार नेपालमा ल्याइएका छैनन्। नाडा अटो शोमा भने त्यसको नाममा टिकट बेचेर दर्शकलाई लोभ्याउने र बेवकुफ बनाउने चलखेल गरिएको भन्दै आलोचना भएको छ।

तातोपानी नाका अवरुद्ध भएकाले भरिया लगाएर बोकेर नै सीमा तारिएको यो कारले नाडाको अटो शोमा ग्राहकलाई आकर्षित गर्न सफल भयो। नेपालका लागि डीपलका गाडी बिक्रेता कम्पनीले यो कार भित्र्याएको हो । यद्यपि, यो केवल शोकेस मात्रै हो।

चांगन डीपलको उड्ने कार अटो शोमा प्रदर्शनी प्रयोजनका लागि मात्रै धरौटीमा ल्याइएको हो। प्रदर्शनीमा राखेपछि फेरि फिर्ता लैजानुपर्ने हुन्छ। चांगन अटोमोबाइलको सब–ब्रान्ड डीपलले बनाएको अटोनोमस फ्लाइङ कार नाडा अटो शोमा राखिएको हो। जसलाई इलेक्ट्रिक भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ (इभीटीओएल) फ्लाइङ कार भनिन्छ । कार स्वचालिक रुपमा उडाउन मिल्छ।

ईह्याङ वल्र्ड लिडिङ अर्बन एयर मोबिलिटी प्रविधिको प्लेटफर्म भएको कम्पनी हो । एयर मोबिलिटीमा प्यासेन्जर ट्रान्सपोर्टेसन र लजिस्टिक समावेश छ । कम्पनीले पाइलटविना उडान गर्न चीनको सिभिल एभियसन एडमिनिस्ट्रेसनबाट प्रोडक्सन सर्टिफिकेट र स्यान्डर्ड एयरवर्दीनेस सर्टिफिकेट लिएको छ ।

यसको उचाइ १.९३ मिटर र चौडाई ५.७३ मिटर छ । यसले ६२० केजी भार बोक्न सक्छ । एक पटकको फुल चार्जमा ३० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । कारको स्पिड प्रति घन्टा १३० किलोमिटर छ ।

लामो समयदेखि अटोमोबाइल क्षेत्रको एकछत्र प्रभुत्व जमाउँदै आएको नाडा (अटोमोबाइल्स एसोसिएसन अफ नेपाल) यतिबेला इतिहासकै गम्भीर संकटमा पुगेको छ । अध्यक्ष चौधरीको अक्षमताको चपेटामा नाडा थप बिखण्डनको मोडमा पुगेको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सहमति कार्यान्वयन नभएमा साधारणसभा नै प्रभावित हुने देखिन्छ। वरिष्ठ उपाध्यक्ष आकाश गोल्छालाई नेतृत्व सुम्पन तयार नभएकै कारण चौधरीले नियोजित रुपमा लफडा निकालेको आरोप नाडाका पदाधिकारीहरुले लगाएका छन्।