नेपाल प्रहरीको ३२औँ आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त
काठमाडौं। नेपाल प्रहरीको ३२औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्। शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरियतामा रहेका अतिरिक्त महानिरीक्षक (एआईजी)खापुङलाई नियुक्त गर्ने निर्णय गरेको हो।
उनले भदौ १९, २०८२ बाट कार्यभार सम्हाल्ने छन्। तर, यो नियुक्तिसँगै निवर्तमान आईजीपी दीपक थापाको कार्यकाल विस्तारको प्रयास असफल भएको छ।
चन्द्रकुवेर खापुङ,जो हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का निर्देशक छन्,नेपाल प्रहरीको नेतृत्वमा एकल प्रतिस्पर्धीका रूपमा छनोट भएका हुन्।
प्रहरी नियमावलीअनुसार उनको कार्यकाल भने अहिलेसम्मकै सबैभन्दा छोटो हुने देखिन्छ। खापुङ २६ कात्तिक २०८२ मा अनिवार्य अवकाशमा जानेछन्, जसले उनको कार्यकाल केवल दुई महिनाको हुनेछ।
यो छोटो अवधिमा प्रहरी सङ्गठनमा प्रभावकारी सुधार र नेतृत्व प्रदान गर्नु उनको लागि ठूलो चुनौती हुने छ। खापुङ र दीपक थापा दुवै १९ भदौ २०५१ मा प्रहरी निरीक्षकका रूपमा भर्ना भएका थिए।
यद्यपि, वरियतामा खापुङ अगाडि रहेकाले उनले यो अवसर पाएका हुन्। तर, यति छोटो कार्यकाल भएको नेतृत्वले सङ्गठनमा कस्तो प्रभाव पार्ला भन्ने प्रश्न उठिरहेको छ।
