माओवादीबाट चार पटक प्रधानमन्त्री, देश र जनतामा भएन केही प्रगति
अनुसा थापा

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईले ४१ सूत्रीय माग राख्दै सम्बोधनका निम्ति तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ३५ दिने अल्टिमेटम दिए । तर, माग पूरा नभएपछि उनीहरुले २०५२ फागुन १ गते हतियार उठाए । सो मागमा भारतले कब्जा गरेको नेपाली भूभाग सरकारको नाममा ल्याउनुपर्ने माग पनि समेटिएको थियो ।
माओवादी जनयुद्धको ३० वर्ष बितिसकेको छ । यो अधिमा भारतले कब्जा गरेको एक टुक्रा जमिनसमेत फिर्ता लिन सकिएको छैन । माओवादीले १७ हजार नागरिक जनयुद्धको नाममा मार्यो । हजारौं अंगभंग भए । राज्यको खर्बौंको सम्पत्ति तहसनहस बनाइयो । तर, अहिले आएर विचार गर्दा त्यो जनयुद्ध राष्ट्र र जनताका लागि थिएन, सिर्फ माओवादी नेताका निम्ति थियो ।
प्रचण्ड तीनपटक देशको प्रधान चलाउने मौका पाए । २०६५ जेठ १५ गतेपछि उनले तीनपटक देश चलाउने मौका पाए । त्यो दिन देशमा राजतन्त्र अन्त्य भएर लोकतन्त्र गणतन्त्र आयो । बाबुराम भट्टराई एकपटक प्रधानमन्त्री बने । काँग्रेस वा एमालेबाट प्रधानमन्त्री हुँदापनि माओवादी सरकारमा गएकै छ । विडम्बना, देश र जनताका निम्ति माओवादीले सिन्को भाँच्न सकेन ।
प्रचण्ड र बाबुरामको क्षमता जनताले राम्ररी देखि र बुझिसकेका छन् । देशमा के भइरहेको छ ? थाहा छैन । लाखौं मान्छेको अर्बौं पैसा खाएको अभियोग लागेर जेल पुगेको रवि लामिछानेको पक्षमा बाबुराम सडकमा हस्ताक्षर गर्ने, प्रचण्ड नख्खु जेलमा भेट्न पुग्ने । माओवादी जनयुद्धको क्रममा आफ्नो ज्यान बचाउनका निम्ति २०५६ सालमा अमेरिका लागेका रवि त्यसअघि राजावादी थिए ।
सञ्चारकर्मी हुँदापनि उनले छवि त्यति राम्रो छैन । २०७१ जेठमा नेपाल फर्किएका रविमाथि अमेरिकामा पनि विभिन्न मुद्दा परेको छ । जनताको यति भूल भयो कि माओवादी र रास्वपालाई जनताले चिन्नै सकेनन् । रास्वपाको एजेण्डा नै जनतालाई भ्रमित बनाएर ठग्ने, लुट्ने हो । नयाँ भनेको पार्टीका नेताहरु विभिन्न काण्डमा मुछिएको छ । कहिले यसमा, कहिले उसमा ।
सभापति नै जेलमा छन् । यता, माओवादी त माओवादी भइहाल्यो । कहिले योसँग टाँसिने, कहिले त्योसँग । आगामी कात्तिक १७ गते रुपन्देही ३ मा उपनिर्वाचन हुँदैछ । रास्वपाको उम्मेदवार जनताले देखिसकेका छन् । उम्मेदवार घोषणा हुनेबित्तिकै विभिन्न काण्डमा मुछिएका व्यक्ति रास्वपाको रोजाइँमा परेको छ । रास्वपा र माओवादीले अहिलेपनि जनतालाई झुक्याउन खोजिरहेको छ ।
तर, जनता धेरै सचेत भइसकेका छन् । हिजो जनयुद्धमा कमाण्डर बनेकाहरुको आफ्नै हविगत अहिले नाजुक छ । व्यक्तिगत फाइदा लिन नपाएपछि धमाधम माओवादीबाट अलग्गिए । नेत्रविक्रम चन्द, बाबुराम, मोहन वैद्यको अवस्था सबैले देखिरहेकै छौं । एकजुट भएर पार्टीलाई अगाडि बढाउन नसक्नेले देशलाई के बढाउँथे ? लोकतन्त्र गणतन्त्र आएपछि २९ खर्ब ४२ अर्ब रुपैयाँ वैदेशिक ऋण पुग्यो ।
दैनिक झण्डै तीन हजार वैदेशिक रोजगारीमा गइरहेका छन् । चप्पल लगाउने हैसियत नभएका माओवादीका नेताहरुको अहिले काठमाडौंमा आलिशान महल छ । उनीहरुले छोराछोरी अमेरिका, अष्ट्रेलिया पठाएका छन् । त्यो पैसा कहाँबाट आयो ? जनयुद्धको क्रममा लुटेको पैसा हो त्यो । जनताले माओवादीको असली रुप देखिसकेका छन् । सर्वोच्च अदालतले गौर हत्याकाण्डका प्रतिवादीहरुमाथि छानबिन अगाडि बढाउन आदेश दिइसकेको छ ।
माओवादीको हकमा पनि त्यही नहोला भन्न सकिन्न । १७ हजार मान्छे मारेको अभियोगमा अनुसन्धान अघि बढ्यो भने प्रचण्ड, बाबुरामलगायतको हविगत के होला ? देश र जनताको नाम बेचेर माओवादीले आफ्नो व्यक्तिगत फाइदा लियो । देशको नाममा मरेकाहरु माथि माओवादीले न्याय गर्न सकेन । झनै अन्याय गर्यो । जनयुद्धको क्रममा राखेका मागहरु पुरा गरेको भएपनि शहिद भएकाहरुमाथि न्याय हुन्थ्यो होला ।
तर, माओवादीले त्यो गर्न सकेन । पदमा पुगेपछि माओवादीका नेताहरुले आफूले गरेको वाचा बिर्सिए । उनीहरुलाई न देश याद आयो न जनता। उनीहरु भ्रष्टाचार गर्नतर्फ केन्द्रीत भए । आफ्नो परिवारका सदस्यलाई अवसर दिलाए । जनयुद्धमा घाइते भएकाहरुले अहिलेपनि उपचार पाउन सकेका छैनन् । माओवादीले उनीहरुलाई फर्केर हेर्दैन । अनि यस्तो पार्टी र नेतालाई जनताले किन हेर्ने ?
बाबुराम भट्टराईले आफ्नी छोरी मानुषी यामी भट्टराईलाई काठमाडौं ७ बाट उठाएका थिए । जनताको छोराछोरीलाई शहिद बनाएर आफ्नो छोरीलाई चुनावमा उठाउन नैतिकताले दिन्छ ? आफू प्रधानमन्त्री भए, श्रीमतीलाई मन्त्री बनाए , छोरीलाई पनि नेता बनाउन खोजे । बाबुराम भट्टराईमा कति नैतिकता रहेछ ? जनताले स्पष्ट देखिहाले । प्रचण्डको त परिवार नै राजनीतिमा छ ।
प्रचण्डको देखाउने दाँत एउटा र चपाउने दाँत अर्कै छ । बाहिर एउटा कुरा गर्छन्, भित्र अर्कै । भाइ राष्ट्रिय सभाको अध्यक्ष, बुहारी मन्त्री, छोरी मेयर योभन्दा अरु के चाहियो ? प्रचण्डको हातमा अहिले ७८ लाखको घडी छ । लाखौंको घडी बाँध्ने उनको हैसियत के ? जनताको नेता भनेर उनले जनतालाई नै धोका दिए । मोहन वैद्य र विप्लवले कहिले चुनावमा भाग लिँदैनन् ।
यिनीहरु चुनावमा गए भने वडाध्यक्ष पनि जित्दैनन् । यिनीहरुको काम थर्काउने, चन्दा उठाउने खाने । देश र जनताको लागि केही होला भनेर जनता मर्न तयार भए । तर, नेताहरुले केही गरेनन् । जनताको छोराछोरी मारेर उनीहरु मोजमस्तीमा ध्याउन्न भए । प्रचण्डले नेपाललाई स्वीट्जरल्याण्ड बनाउँछौं भन्यो । स्वीट्जरल्याण्ड होइन, नेपाल नै नरहलाजस्तो भइसकेको छ ।
राजाले खायो भनेर काँग्रेस र एमालेलाई डाहा भयो । उनीहरुले पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था ल्याए । काँग्रेस र एमालेले खाएको माओवादीले देख्न सकेन । जनयुद्ध गर्यो । तीनवटै पार्टीले खाएको रास्वपाले सहन सकेन । पार्टी खोले, सहकारी ठगीमा जेल गए । राजा ज्ञानेन्द्रले तिमीहरु गरिखाऊँ भनेर दरबार छोडिदिए । देशको भलो गर, विकास गर भनेर उनी नागार्जुनमा गएर बसे ।
तर, के भयो ? देशको भलो भयो ? जनताले सुःख पाए ? सामान्तीहरु सकिए ? जनताको अवस्था फेरियो ? केही पनि भएन । बरु नेताहरुले ऋण ल्याएर आफू मोजमस्ती गरे । सामान्तीहरुको अन्त्य गर्न हिँडेका नेताहरु आफैं सामान्ती बने । यी नेता जबसम्म पदमा हुन्छन् तबसम्म यो देशको मुहार फेरिनेवाला छैन । देश विकास हुनका लागि त्यागी नेता चाहिन्छ ।
यहाँ त जोपनि लुट्ने मात्र छन् । जसरी हुन्छ लुट्ने । अनि कसरी देश बन्छ ? बुढापाकाले भन्छन्,‘उधो गएको गोला पनि १२ वर्षमा फर्किन्छ ।’ माओवादी शान्ति वार्तामा आएको १८ वर्ष भयो । तर, माओवादीका नेताहरुको चेत खुलेन । जसका कारण राम्रो र हाम्रो नेपाल भन्ने जनताको सपना चक्नाचुर भएको छ । केही समयअघि माओवादी नेता रक्सी खाएर बाथरुममा लडेको समाचार आयो ।
जनताले त्यही गर भनेर पदमा पुर्याएको हो ? माओवादीले शहिद र जनताको अपमान गरेको छ । त्यसैले अब जनता कार्यकर्ता होइन, जनता बनौं ।
