पार्टी सभापति देउवालगायत नेतामाथि भएको भौतिक आक्रमणको निन्दा
काठमाडौं। नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवालगायत अन्य नेताहरूमाथि भएको साङ्घातिक आक्रमणको घोर निन्दा तथा भत्सर्ना गरेको छ।
पार्टी प्रवक्ता डा प्रकाशशरण महतले आज प्रेस विज्ञप्ति जारी गरी नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद् घटना भएको उल्लेख गर्दै दुःख व्यक्त गरे।
धेरै युवा र केहि सुरक्षाकर्मिहरूले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैकालागि अत्यन्त दुखदायी छ,मृतकहरूमा श्रद्धाञ्जली अर्पण गर्दछु,उनको विज्ञप्तिमा उल्लेख छ। घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै उनले विरोध प्रदर्शन क्रममा भएको धनजनको ठूलो क्षतिप्रति गम्भीर चिन्ता प्रकट गरे।
कांग्रेसले लोकतन्त्र र संविधानप्रती प्रतिबद्ध अन्य दलहरूसँग तत्काल संवाद गर्न आवश्यक रहेको जनाएको छ।
शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपतिको अगुवाईमा हुने संवाद र पहलमा कांग्रेसले सक्रिय पहल गर्न आवश्यक रहेको जनाएको छ।
मङगलबार देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको उल्लेख गर्दै पार्टीले देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाहरूले अवश्य पनि यस्तो नचाहेका जनाएको छ।
“कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाजस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ। म लगायत धेरैको घर निजी सम्पति, उधोगव्यावसाय, सञ्चारगृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद् र निन्दनीय छ, उनले उल्लेख गरेका छन्।
यसले लगानिको वातावरणलाई पनि बिगारेको र क्षतिपूर्ती गर्न वर्षौ र ठूलो लगानी लाग्ने कांग्रेसको भनाइ छ। देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा रहेको उल्लेख गर्दै प्रवक्ता डा महतले राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी रहेको उल्लेख गरे।
कानुनी शासनको विकल्प र लोकतन्त्रको विकल्प नभएको उल्लेख गर्दै उनले यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य रहेको जनाए।
लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि सबै फेरि सक्रिय हुन आवश्यक रहेको उल्लेख गर्दै उनले कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दो शक्ति हो भन्ने कुनै दुविधा नरहेको स्पष्ट पारे।
