जेनजी आन्दोलनः २ हजार ३ सय १६ जनाले गराए उपचार, ३८ जना अझै अस्पतालमा
काठमाडौं। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरूबाट उपचार लिएको सरकारले जनाएको छ।
भ्रष्टाचार, बेथितिविरुद्ध जेनजी पुस्ताले आन्दोलन गरेका थिए। जसमा देशभर विभिन्न स्थानमा झडप, तोडफोड, आगजनी भयो। जसमा ७६ जनाले ज्यान गुमाएका छन्। शुरुवातको समयमा देशभरका ८३ वटा अस्पतालले जेनजी आन्दोलनका घाइतेहरूको उपचार गरेको सरकारी तथ्यांक छ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले घाइतेहरूमध्ये केहीको भर्ना भएर शल्यक्रिया गर्नुपरेको बताए। केही सामान्य उपचार बसेको र केही अहिले पनि भर्नारत रहेको बताए।
अहिले पनि देशभरका विभिन्न १० वटा अस्पतालहरूमा जेनजी घाइतेहरू उपचाररत छन्। जेनजी आन्दोलनमा घाइते भएकाहरूमध्ये अस्पतालमा पुग्दा पुग्दै वा अस्पतालमा नै उपचार हुँदाहुँदै मृत्यु भएको संख्या ४९ रहेको बताए। हाल १० वटा अस्पतालमा ३८ जना घाइतेहरू उपचाररत रहेको बताए।
उहाँले २ हजार २ सय २९ जना डिस्चार्ज भएर घर फर्किसकेको र जेनजी आन्दोलनमा ९ सय ४७ जना घाइतेहरू बोक्न एम्बुलेन्सको प्रयोग गरिएको बताए।
