पाँच सय र हजारको नोटमा प्रतिबन्ध अर्थतन्त्र चलाउने एकमात्र उपाय,कार्यान्वयनमा नगरौं ढिलाई

नेपालीको महान चाड दशैं सकिएको छ । दशैं सबैभन्दा बढी व्यापार हुने चाडमा पर्दछ । तर, यसपालिको दशैंमा पनि सोचेअनुरुप व्यापार नभएको व्यापारीहरु बताउँछन् । व्यापारीहरु गुनासो गर्छन्–यसपटक त राम्रै व्यापार होला भन्ठानेका थियौं, तर भएन । अब राज्यलाई कर, कर्मचारीलाई तलब कसरी दिने ?

सर्वसाधारणले पैसा भए सामान किन्ने हो । सर्वसाधारणसँगै पैसा छैन, सामान कसले किन्ने ? मुलुकमा बेरोजगारी अधिक छ । कमाइ नहुँदा सर्वसाधारणको गोजी रित्तो छ । जसका कारण बजार चलायमान हुन नसकेको हो । व्यापारीहरु बढीबढी नाफा खान खोज्छन् । एउटै सामानमा हजारौं रुपैयाँ नाफा खान्छन् ।

एक सयमा ल्याएको सामान १५ सय भन्छन् । सर्वसाधारणसँग पैसा छ कि छैन ? उनीहरुलाई मतलब छैन । काठमाडौं उपत्यका र बाहिर, एउटै व्यक्तिले पाँचदेखि ६५ वटासम्म घर बनाएका छन् । कारण हो–सटर भाडामा दिएर मासिक करोडौं भाडा उठाउनु । व्यापारीले व्यापार नभएपछि भाडा तिर्न सक्दैनन ।

र, यसको असर घरधनीलाई पनि पर्ने नै छ । दशैंपछाडि आज सेयरको पहिलो कारोबार हुँदैछ । सर्वसाधारण कुरा गर्छन्–सेयरको मूल्य अब स्वाट्टै घट्छ । सेयरकै लगानीकर्ताहरु २६ सय कित्ताको सेयर अब १४ देखि १५ सयमा आउने बताउँछन् । जोसँग पैसा छ, उनीहरुले जम्मै लुकाए । पाँच सय र हजारको नोट सर्वसाधारणहरुको घरमा छ ।

सुनको मूल्य प्रतितोला दुई लाख ३० हजार नाघिसकेको छ । २६ हजार पाँच सय रुपैयाँ बनाउने ज्याला गर्दा एक तोला सुन लगभग तीन लाख रुपैयाँ पर्न जान्छ । सुनको भाउ बढेतापनि किन्ने मान्छे कोही छैनन् । अर्कोतिर, बेच्दा पसलेले लिनै मान्दैनन् । २०२२ सालमा सुन जम्मा ८० रुपैयाँ तोला थियो ।

त्यसपछि लगातार बढेको सुनको भाउले आरोलो झर्ने नामै लिएको छैन । नाइमाले गत साउन २१ देखि २८ गतेसम्म अटो शोको आयोजना गर्यो। यता, नाडाले भदौ ३ देखि ८ गतेसम्म अटो प्रदर्शनी गर्यो । नाइमाको उद्घाटन तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे ।

नाडाको हकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै उद्घाटन गरेका थिए । त्यतिबेला नयाँ गाडी खरिदका लागि सर्वसाधारणले गरेको बुकिङ्गहरु धमाधम रद्द भइरहेको छ । चीन र भारतमा दुईदेखि पाँच लाखमा आउने गाडी यहाँ ल्याएर करोडौंसम्म बेचिन्थ्यो । गाडीमा ठूलो नाफा खान्थे, अटो व्यवसायी ।

जुन कुरा सर्वसाधारणले राम्रोसँग बुझे । जसको नतिजा बुकिङ्ग रद्द हो । यातायात कार्यालयहरु लामो समयदेखि सुनसान छ । चार वर्षदेखि देशैभरका १३४ वटा मालपोत कार्यालयमा पनि सन्नाटा छ । किन कि, घरजग्गा कारोबार ठप्प छ । बैंकमा कर्जा माग्न जाने कोही छैनन् ।

सरकारले अहिले नै कुनै कदम नचाल्ने हो भने बजार झनै डामाडोल बन्ने देखिन्छ । अर्थमन्त्री रामेश्वर खनालले तत्काल पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउने निर्णय गर्नुपर्छ । अनि मात्र घरभित्र लुकाइएका रकमहरु बाहिर आउँछ । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा शीर्ष नेताहरुको घरमा ठूलो रकम भेटियो ।

काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा पैसाको खातैखात फेला परेको थियो । यता, ऊर्जामन्त्री दीपक खड्काको घरबाट पैसा नै उडेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहालको घरमा पनि पैसा भेटिएको भनि भिडियोहरु बाहिर आइरहेका छन् ।

अन्य नेताको घरमा पनि पैसा होला । केही महिनाअघि मात्र राजधानीको गोगंबुमा झण्डै पाँच करोड रुपैयाँ भेटिएको थियो । यता, भक्तपुरमा एकाध वर्षअघि एउटैको घरबाट करोडौं रुपैयाँ चोरी भएको थियो । नेतादेखि व्यक्तिले घरमा करोडौं रुपैयाँ लुकाएका छन् । हुनेहरुले कोठामा ताला लगाएर राखेका छन्, नहुनेसँग छँदै छँदैन ।

अनि बजारले कसरी गति लिन्छ ? केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालको बाटोमा हिँडेर अब देशले फड्को मार्दैन । वर्तमान प्रधानमन्त्री सुशिला कार्की देशलाई निकास दिनेतर्फ जानुपर्छ । कसरी बजार चलायमान हुन्छ ? कर कसरी उठ्छ ? घरमा लुकाइएको रकमहरु कसरी निकाल्न सकिन्छ ? यसमा उनको ध्यानाकर्षण हुनुपर्छ ।

किन कि, केपी, शेरबहादुर, पुष्पकमललगायत मन्त्री बनेकाहरुले काम गर्न सकेको भए विरोध नै हुँदैनथ्यो, उनी प्रधानमन्त्री बन्दै बन्दैनथिन् । त्यसैले, उनले छिटोभन्दा छिटो नयाँनयाँ निर्णय गरेर पैसा बाहिर निकाल्नुपर्छ । डामाडोल बजारलाई चलाउनतर्फ लाग्नुपर्छ । सवारी साधनमा चार वटा गियर हुन्छ ।

धेरै लोड र उकालो बाटोमा एक नम्बर गियर लाग्छ । थोरै लोड र तेस्रो बाटोमा चार नम्बर गियर लाग्छ । चालकले त अवस्था हेरेर गियर हाल्छन् भने यो त देशको कुरा हो । घ्यारर्घ्यारर् चलिरहेको देशलाई अब पाँच सय र हजारको नोट प्रतिबन्ध लगाएर स्मुल्थ्ली चलाउनुपर्छ ।

पुराना नेताहरु पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन डराउनुको कारण उनीहरुकै कारणमा थुप्रिएको पैसा थियो । सबै आफ्नो घरमा थुपारेर राखेका छन् अनि उनीहरुले प्रतिबन्ध लगाउँछन् ? पाँच वर्षदेखि उनीहरुले एउटै शब्द बोल्दैछन्–अर्थतन्त्रले गति लिँदैछ । तर, कहाँ र कसरी लियो ? जनताले देखेका छैनन् ।

नयाँ सरकारले तत्काल पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउनुपर्छ । किन कि, सरकारी कर्मचारी, व्यापारीहरुले पनि त्यसरी नै पैसा लुकाएका छन् । पैसा थुपार्नका लागि होइन । पैसा बजार घुमिरहनुपर्छ । एउटा नोट दिनमै सय जनाको हातमा पुग्नुपर्छ । अनि मात्र बजार चलायमान हुन्छ ।

एउटा मकैको गेडाबाट तीनदेखि पाँच घोगा मकै फल्छ । ती पाँच घोगामा हजारौं गेडा मकैं हुन्छ । पैसा पनि त्यस्तै हो । एउटा नोटले अर्को नोट कमाउने हो । पैसा त कुदाएको कुदयै गर्नुपर्छ अनि मात्र अर्थतन्त्र ट्रयाकमा आउँछ । बजारमा पैसा ननिस्किदाँ व्यापार सुकेको छ । व्यापार सुक्दा राज्यको ढुकुटीमा राजश्व आएको छैन ।

अर्ब अर्थतन्त्र सुधार्ने जिम्मा प्रधानमन्त्री र अर्थमन्त्रीको काँधमा छ । जेनजीको आन्दोलनपश्चात् कतिपय मुलुकले नेपाललाई भीसा रोकेको छ । जसका कारण विगतको तुलनामा कम रेमिट्यान्स आउँछ । विदेश गएर कमाउने सपना देखेकाहरु बेरोजगार भएर बस्नुपर्ने भएको छ ।

जति अर्थतन्त्र चलायमान भयो, त्यति नै राज्यको ढुकुटीमा राजश्व आउँदैन । जनतासँग खानालाई पैसा छैन भने कर कसले तिर्छ । कर नै उठेन भने राज्यले दैनिक सरकारी खर्च कसरी धान्छ । २९ खर्ब ४२ अर्बको वैदेशिक ऋणको साँवाब्याज कहाँबाट तिर्ने ? कर्मचारीलाई तलब कसरी खुवाउने ?

दूध किसान र उखु किसानको सात अर्ब, कोरोना बीमा गरेका अस्पतालका २४ अर्ब र निर्माण व्यवसायीको ४५ अर्ब कहाँबाट तिर्ने ? भत्ता कसरी बाँड्ने ? सरकारले अबपनि हेलचेक्य्राइँ गर्ने हो भने मुलुकमा ठूलो संकट आउँछ । देश नै नरहने अवस्था आउन सक्दैन । अर्थमन्त्री खनाल अब घुमघाममा निस्किने होइन ।

धमाधम निर्णय गर्ने हो । समयको ख्याल नगर्दा र कुर्सीमा मात्र बसिरहन खोज्दा पुराना नेताको हविगत के भयो ? सबैले देखेका छौं । नयाँको पनि त्यस्तो हालत नहोस् ।