नख्खु कारागारबाट भागेका कैदीले गरे युवकको हत्या
काठमाडौं । ललितपुरको नख्खु कारागारबाट भागेका एक कैदीले ठमेलमा एक युवकको हत्या गरेको खुलेको छ । फरार कैदी आकाश मगरले १३ असोजमा सुरज तामाङको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
मकवानपुर घर भई मनमैजु बस्दै आएका २५ वर्षीय तामाङलाई ठमेलमा आक्रमण गरी गम्भीर घाइते बनाइएको थियो । उपचारका लागि वीर अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार पुरानो रिसइबीका कारण हत्या भएको अनुमान गरिएको छ । मगर लुटपाट तथा डकैतीको अभियोगमा जेल चलान भएका थिए । उनी २४ भदौमा ‘जेन–जी आन्दोलन’का क्रममा कारागार तोडफोड गर्दै फरार भएका थिए ।
घटनास्थल वरपरको सीसीटीभी फुटेज र अन्य प्राविधिक तथा म्यानुअल अनुसन्धानका आधारमा हत्यामा मगरको संलग्नता पुष्टि भएको प्रहरीको भनाइ छ । तर, उनी हालसम्म पनि पक्राउ परेका छैनन् ।
यसअघि पनि नख्खु कारागारबाट भागेका काभ्रेका सन्तबहादुर तामाङले आफ्नी श्रीमती मनिषा तामाङको हत्या गरेका थिए ।
कैदीहरू ठूलो संख्यामा अझै फरार रहेकाले सुरक्षा चुनौती थप बढेको छ । विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले कारागार व्यवस्थापन विभागसँग फरार कैदीहरूको अद्यावधिक विवरण माग गरेको जनाएको छ ।
यसअघि पनि नख्खुबाटै फरार सन्तबहादुर तामाङले श्रीमतीको हत्या गरेका थिए ।
