इजरायलले दियो विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी

काठमाडौं। इजरायलले परिवारजनलाई सम्पर्क गरेर विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी दिएको छ।

इजरायली सेना आईडीएफले आज इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोरलाई विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको हो।

राजदूत पण्डितले ती अधिकारीले भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको जानकारी दिए।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।

सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।

विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए । त्यसपछि अहिले उनीहरु अमेरिकामा छन् ।