प्रधानमन्त्रीको नाममा चन्दा सङ्कलन,सरकारको गम्भीर ध्यानाकर्षण
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाम दुरुपयोग गरी चन्दा सङ्कलन भएको पाइएको छ । विभिन्न परियोजना, कोष र सामाजिक कार्यका लागि भन्दै आर्थिक सहयोग सङ्कलन गरिएको सूचना प्राप्त भएपछि प्रधानमन्त्रीको कार्यालयले सोमबार प्रेस विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता रविलाल शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यू वा यस कार्यालयको तर्फबाट कुनै पनि व्यक्ति वा समूहलाई चन्दा वा सहयोग सङ्कलनका लागि अनुमति दिइएको छैन । यस्ता भ्रामक गतिविधिमा विश्वास नगर्न र कसैले यस्तो आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न अनुरोध छ।
प्रधानमन्त्री कार्कीको नाम प्रयोग गरी चन्दा सङ्कलन गर्ने वा त्यस्ता गतिविधिलाई प्रोत्साहित गर्ने कार्य फेला परेमा नजिकको स्थानीय प्रशासनमा तुरुन्त जानकारी गराई कानुनी कारबाहीका लागि आग्रह गरिएको छ । साथै, विदेशमा बसेर यस्ता अनधिकृत गतिविधि गरेको जानकारी भएमा सम्बन्धित देशको नेपाली नियोगमा सूचना दिन पनि अनुरोध गरिएको छ।

