टी-२० विश्वकप छनोट: कतारमाथि नेपालको रोमाञ्चक जित,सन्दीपले लिए ५ विकेट

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा सन्दीप लामिछानेले ५ विकेट लिएपछि सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो। कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए। अन्य ब्याटरबाट उल्लेख्य योगदान हुन नसक्दा पराजित हुन पुग्यो।

नेपालका लागि सन्दीपको ५ विकेटसँगै नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

एक समय सहज जितको अवस्थामा रहेको कतारविरुद्ध नेपालले आजपनि शानदार पुनरागमन गरेको हो । आजपनि दीपेन्द्रको एक रनआउट र आदिलको एक रनआउटले खेल नेपालको पक्षमा ल्याएको थियो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

कप्तान रोहितले ४१ बलमा ५८ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन बनाए । गुल्शन झाले आजपनि ८ बलमा १६ रनको क्यामिओ पारी खेले ।

कतारका लागि कप्तान मिर्जा बेगले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए। डानियल लुइसले पनि ३ विकेट लिए। मुहम्मद असिमले १ विकेट लिए। नेपालले सुपर सिक्समा आइतबार यूएईलाई हराएको थिय।