टी-२० विश्वकप छनोट: नेपालले ओमानलाई ३८ रनले हरायो

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित यात्रा कायमै राखेको छ।

बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले अपराजित यात्रा कायमै राख्दै छनोट प्रतियोगिताको उपाधिको नजिक पुगेको छ।

नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । मोहम्मद नदीमले २५ रन बनाए ।

नेपालका लागि गुल्शन झाले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । नन्दन यादव र सोमपाल कामीले २(२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको संयमित अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो ।

भुर्तेलले ५१ बलमा ६९ रन बनाए। आसिफ शेखले २४ रन बनाए । गुल्शन झाले २ छक्कासहित १८ तथा आदिल आलमले १६ रन बनाए। अन्यबाट उल्लेख्य योगदान हुन सकेन।

राम्रो सुरुवात गर्दै पावरप्लेमा ५३ रन जोड्दा कुनैपनि विकेट नगुमाएको नेपालले त्यसपछि नियमित अन्तरालमा विकेट गुमाएको थियो।

ओमानका लागि नदीम खानले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । त्यस्तै शुफिया मेहमुद र जितेन रामानन्दीले २-२ विकेट लिए।

नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेका छन्। आजको जितपछि नेपाल ४ खेलमा ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ।

नेपालले आइतबार यूएईलाई तथा सोमबार कतारलाई हराएको थियो । ओमानले पनि आइतबार कतार र सोमबार यूएईलाई हराएको थियो।