जेनजी आन्दोलन टिओबीले भड्काएको प्रहरीको प्रारम्भिक अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलन भड्काउन टिब्बटेन ओरिजिनल ब्लड (टिओबी)को मुख्य भूमिका रहेको देखिएको छ ।

टिओबी ज्याकेट लगाई आन्दोलनमा सहभागी भएका तेन्जिङ दावाको बयानका आधारमा यस्तो खुलेको हो । प्रहरीले २६ असोजमा दावालाई पक्राउ गरी उनीविरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गत म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा टिओबी ज्याकेट लगाएका बाइक राइडरहरू आन्दोलन भड्काउने भूमिकामा देखिएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले बताए ।

टिओबी ज्याकेट लगाएकाहरू रेडिओ सेटसहित आन्दोलनमा सहभागी भएका थिए । सोही रेडियो सेटमार्फत उनीहरूले बाइकमा सहभागी युवालाई निर्देशन दिन्थे । आन्दोलनमा रेडियो सेटसहित सहभागी हुनु अनौठो विषय रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको एसएसपी थापाले बताए ।

प्रहरीले जेन–जी आन्दोलनमा उनीहरू सहभागी भएका सबै ठाउँका सिसिटिभी फुटेज संकलन गरेको छ । नागरिकस्तरबाट प्राप्त भएका भिडियो र फोटोलाई पनि प्रहरीले सूक्ष्म ढंगले विश्लेषण गरिरहेको छ ।

यसक्रममा प्रहरीले नागरिकस्तरबाट ३६ हजारभन्दा धेरै फोटो र भिडियो संकलन गरेको छ । टिओबी ज्याकेट लगाई आन्दोलनमा सहभागी हुनेहरूको मुभमेन्ट र गतिविधि अध्ययन गर्न प्रहरीले सोही भिडियो र फोटोलाई आधार बनाएको हो ।