प्रचण्डः आफ्नो गल्ती नदेख्ने, अरुमाथि हिलो छ्याप्ने अनि आफू सग्लो बन्ने
अनुसा थापा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारण जेनजी आन्दोलन भएको, सरकार ढलेको, संसद् विघटन भएको र सुशीला कार्की प्रधानमन्त्री भएको आरोप लगाएका छन् । उनले केही दिनअघि भनेका थिए,‘यो सब हुनुमा ओलीको हात छ । सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन ओलीले नै प्रस्ताव गरेका हुन् ।
देशमा विषम परिस्थिति हुँदापनि अझै अर्कोमाथि हिलो छ्यापेर आफू सग्लो बन्ने काम माओवादीले गरिरहेको देखिन्छ । हुन त माओवादीका अध्यक्ष प्रचण्ड जता फाइदा हुन्छ, त्यतै ढल्किने व्यक्तिमा पर्छन् । २०७४ मंसिर १० र २१ गते भएको निर्वाचनमा माओवादी एमालेसँग गठबन्धन गरेर चुनावमा गयो । पार्टी एकीकरणसम्मको कुरा भए । अनि मेडिकल व्यवसायी दुर्गा प्रसाईँको निवासमा मार्सी चामलको भात खाएर पाँच बुँदे सम्झौता गरे ।
जसमा ओली र प्रचण्ड आधा–आधा कार्यकाल प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने, पार्टी एकीकरण गर्नेलगायतका विषयहरु छन् । सम्झौताबमोजिम पार्टी अध्यक्ष र प्रधानमन्त्री नपाएपछि प्रचण्डले ओलीको विरोध गर्न थाले । तत्कालीन एमाले नेता माधवकुमार नेपाल र प्रचण्ड मिलेर ओलीलाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट बर्खास्त गरे । पछि सर्वोच्च अदालतले माओवादी र एमाले एकीकरण हुन नमिल्ने भन्दै पार्टी नै भिन्दो गरिदियो ।
ओलीले त्यहीँ रिसले २०७७ पुस ५ र २०७८ जेठ ८ गते संसद् विघटन गरे । त्यसपछि नेपाल र प्रचण्ड नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको शरणमा पुगे । सर्वोच्च अदालतले संसद् ब्यूताइदिएपछि २०७८ असार २९ गते देउवा प्रधानमन्त्री बने । देउवा सरकारमा माओवादी र नेपाल नै सहभागी भएका थिए । २०७९ वैशाख ३० गते स्थानीय तहको र मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भयो ।
चुनावमा पाँच दल मिले र लडे । संसदीय चुनावमा काँग्रेसको ८९, एमालेको ७८, माओवादीको ३२ र नेकपा एसको १० सीट आयो । ३२ सीट ल्याएका प्रचण्डमा प्रधानमन्त्री बन्ने रहर जाग्यो । उनी काँग्रेसलाई प्रधानमन्त्री नदिने अडानमा पुगे । जबकि, जनताले त देश चला भनेर काँग्रेसलाई मतदान गरेका थिए । सबैभन्दा बढी मत ल्याएको काँग्रेसबाट प्रधानमन्त्री हुनुपर्ने थियो ।
उनले काँग्रेसलाई प्रधानमन्त्री दिएनन् । एमाले, रास्वपा, नेकपा एस, राप्रपा, मधेशी दलसँग मिलेर २०७९ पुस ११ गते प्रचण्ड प्रधानमन्त्री बने। काँग्रेस विपक्षमा बस्यो । प्रचण्डलाई नेमकिपाबाहेक सबै पार्टीले विश्वासको मत दियो । काँग्रेसलाई धोका दिएको भएतापनि काँग्रेसले विश्वासको मत दिएको थियो । उनले त्यसपछि एमाले, रास्वपा र राप्रपालाई धोका दिएर काँग्रेससँग गएर गठबन्धन गरे ।
काँग्रेससँग गठबन्धन गरेर सरकार बनाइयो । २०८० फागुन २१ गते पुनः काँग्रेसलाई धोका दिएर एमालेसँग गठबन्धन गरे र सरकार गठन गरियो । ३२ सीटे प्रचण्डले सार्वजनिक कार्यक्रममा बोलेका थिए,‘म पाँचै वर्ष प्रधानमन्त्री हुन्छु । मसँग जादु छ ।’ त्यसपछि ओली र देउवाले प्रचण्डले आफूहरुसँग जालझेल गरेको बुझे । २०८१ असार १७ गते काँग्रेस र एमालेबीच सरकार गठनको सम्झौता भयो ।
असार ३१ गते ओलीले प्रधानमन्त्रीको शपथ खाए । सदनमा उभिएर प्रचण्डले काँग्रेस र एमालेलाई चेतावनी दिएका थिए,‘दुई तिहाइको दम नदेखाऔं । म बंगलादेश बनाइदिन्छु ।’ त्यसपछि पनि माओवादीले सदनमा उग्र प्रदर्शनी गर्दै आएको थियो । भिजिट भिसा काण्डमा तत्कालीन गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर माओवादी र रास्वपाले सदन अवरोध गरिरहेको थियो ।
सर्वोच्चले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा अगाडि बढाएसँगै प्रचण्ड तर्सिए । आफूहरु पनि फस्ने भयौं भन्ने डर लागेपछि उनले लेखकको राजीनामा माग्न चटक्कै छोडिदिए । सरकारसँग दुई बुँदै सम्झौता गरेर उनी पाखा लागे । जबकि, रास्वपाले निरन्तर लेखकको राजीनामा मागिरहेको थियो । ओलीको सरकार ढाल्नका लागि प्रचण्डले धेरै प्रयास गरे ।
उनले देउवालाई पटकपटक भड्काउने काम गरे । तर, देउवाले सम्झौता तोड्न माननेन् । सरकार फुटाउन नसकेपछि उनी जनताको घरदैलो अभियानमा निस्किए । गत चैत १५ गते प्रसाईँको आन्दोलन हुनुभन्दा एकदुई दिनअगाडिसम्म उपत्यकाबाहिर थिए । तर, जब प्रसाईँले आन्दोलन गर्न लागेको भन्ने कुरा उनले थाहा पाए, उनी उपत्यका छिरिहाले । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा पनि त्यही भयो।
उनी अभियानकै लागि विभिन्न जिल्ला पुगेका थिए, जेनजी प्रदर्शन हुने भन्नेबित्तिकै उनी फुत्त काठमाडौं आइहाले । २४ गते बिहान ८ बजे नै माधव नेपाल र प्रचण्डलाई सेनाले सिंहदरबारबाट उद्धार गर्यो । तर, देउवा कतै गएनन् । उनी घरमै बसेका थिए, प्रदर्शनकारीले उनलाई मरणासन्न हुनेगरी कुटे । प्रचण्ड बिहानै सिंहदरबार पुग्नु र उनलाई सेनाले हत्तपत्त उद्धार गर्नुमा कुनै न कुनै रहस्य छ ।
२४ गते साँझ विप्लवले आफूलाई पनि जेनजी आन्दोलनमा जान रहर लागेको बताए । प्रचण्डले फागुन २१ गतेको निर्वाचनमा जेनजी र माओवादी मिलेर चुनाव लड्ने बताएका छन् । यसले नै दालमा कालो छ भन्ने पुष्टि गर्छ । माओवादीले १० वर्षे जनयुद्धमा १७ हजार जनता मार्यो । हजारौं मान्छे घाइते र बेपत्ता भए । जनताले तिरेको करबाट निर्माण भएको सरकारी सम्पत्तिमा आगो लगाइरहँदा खर्बौंको क्षति भयो ।
२०६४ चैत २८ गते भएको पहिलो संविधान सभाको निर्वाचनमा माओवादीले १२० क्षेत्रमा प्रत्यक्ष निर्वाचन जितेको थियो । धेरै क्षेत्रमा थोरै भोटले माओवादी पराजय भएको थियो । २०६५ जेठ १५ गते दुई तिहाईबाट देशबाट राजतन्त्र अन्त्य गरियो । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याइयो । देशबाट राजतन्त्र हटाउन काँग्रेसको समर्थन निकै आवश्यक थियो ।
प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको पहिलो राष्ट्रपति बनाउने भनेपछि बल्ल काँग्रेसले समर्थन जनाउन मानेको थियो । काँग्रेसकै सहयोगले राजतन्त्र हटाउन सम्भव भयो । तर, माओवादीले गिरिजालाई धोका दियो । राष्ट्रपतिमा गिरिजालाई माओवादीले समर्थन गरेन । जसका कारण पहिलो संविधान सभाको निर्वाचनबाट संविधान बन्न सकेन ।
२०७० सालसम्म माओवादीबाट दुई जना प्रधानमन्त्री बनिसकेका थिए, प्रचण्ड र बाबुराम भट्टराई । त्यतिबेलै जनताले थाहा पाए कि माओवादीसँग काम गर्ने क्षमता छैन । एउटा पार्टीका दुई जना प्रधानमन्त्री बन्दा पनि न संविधान बन्यो न देशमा विकास भयो । त्यसपछि संसद विघटन गरेर २०६९ चैत १ गते खिलराज रेग्मीको नेतृत्वमा चुनाव गराउने म्याण्डेटसहित सरकार गठन गरियो ।
२०७० मा निर्वाचन भयो । पहिलोमा काँग्रेस, दोस्रोमा एमाले, तेस्रोमा माओवादी र चौथोमा राप्रपा आयो । काँग्रेस नेतृत्वमा गठन भएको सरकारमा सुशील कोइराला प्रधानमन्त्री बने । कोइरालाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरे । माओवादीले नसकेको काम काँग्रेसले गर्यो । जनताले यो कुरा थाहा पाइसके कि, माओवादीसँग देश विकासको मुद्दा छैन र माओवादी नेतासँग काम गर्ने क्षमता छैन ।
प्रचण्ड तीनपटक र बाबुराम भट्टराई एक पटक प्रधानमन्त्री बने । तर, सिन्को भाँचेनन् । माओवादी पटकपटक सरकारमा गएको छ, गरेको केही होइन । माओवादीको विगतदेखि वर्तमानसम्म नियाल्दा माओवादी नेतासँग झुठ बोल्ने, व्यक्तिगत सम्पत्ति जोड्ने, विलासितामा रमाउने, भ्रष्टाचार गर्नेबाहेक अरु कुनै क्षमता छैन । अहिलेको यो व्यवस्था टिकाएको राष्ट्रपति रामचन्द्र पौडेलले हो ।
उनले धेरै कष्ट गरेर संविधान जोगाए । तैपनि प्रचण्ड आफूले गर्दा संविधान र व्यवस्था जोगिएकोजसरी बोलिरहेका छन् । उनलाई बोल्न पनि लाज लाग्नुपर्ने हो ।
