२३ वटा अदालत जलाउनेविरुद्ध प्रहरीमा जाहेरी दिने सर्वोच्चको निर्णय
काठमाडौं। सर्वोच्च अदालतले जेनजी आन्दोलनका नाममा अदालतमा आगजनी तथा तोडफोड गर्नेविरुद्ध प्रहरीमा जाहेरी दिने निर्णय गरेको छ।
भदौ २४ गते जेनजी आन्दोलनका कममा सर्वोच्च अदालतसहित देशका २३ वटा अदालत आगजनीबाट ध्वस्त भएपछि सर्वोच्च अदालतको फुलकोर्टले आगजनी तथा तोडफोड गर्नेविरुद्ध जाहेरी दिने निर्णय गरेको हो।
आइतबार बसेको फुलकोर्ट बैठकले आगजनी र तोडफोडमा संलग्नहरुलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन सबै क्षतिको विवरणसहित जाहेरी दिने निर्णय भएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए।
सर्वोच्च अदालतले आगजनी र तोडफोड भएका सबै अदालतलाई जाहेरी दिन निर्देशन दिएको छ। आगजनीबाट सर्वोच्च अदालतका भवनसँगै ४२२ वटा सवारीसाधान, ९ लाख ३३ हजार ८२३ वटा मुद्दाका मिसिलमा क्षति पुगेको छ। सर्वोच्चमा ४ हजार दुई सय मुद्दाका मिसिल मात्रै बचेका छन् ।
अन्य अदालतमा ७ लाख ६ हजार ७१ थान मुद्दाका मिसिल जलेर नष्ट भएका छन्। आगलागीबाट सर्वोच्च अदालतको एनेक्स भवनबाहेक कुनै पनि काम नलाग्ने भएका,उच्च अदालत तुलसीपुर, उच्च अदालत बुटवल र उच्च अदालत पाटनको हेटौँडा इजलासको भवन पनि ध्वस्त भएको छ ।
त्यस्ते जिल्ला अदालत काठमाडौँ, मोरङ, चितवन, कास्की, तनहुँ र बाँकेका भवन पनि काम नलाग्ने अवस्थामा छन्।
