मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हरायो, अन्जना बनिन् नायक

काठमाडौं । सिक्किमको पाल्जोर रंगशालामा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

नेपालका प्रशिक्षक नवीन न्यौपानेले खेल बराबरीमा पुगेपछि पेनाल्टी स्पेसलिस्ट गोलकिपर अन्जना राना मगरलाई मैदानमा उतारे । उनले मैदानमा उत्रिएलगत्तै उत्कृष्ट प्रदर्शन गर्दै भारतका दुई पेनाल्टी रोकिन् र नेपालको जित सुनिश्चित गरिन् ।

नेपालका लागि पेनाल्टी सुटआउटमा सविता राना मगर, रश्मी कुमारी घिसिङ र निशा थोकरले गोल गरे । अनिता बस्नेतले भने पोस्ट बाहिर प्रहार गरेकी थिइन् ।

पहिलो र दोस्रो पेनाल्टी सफल भएपछि तेस्रो क्रममा आएकी अनिताको प्रहार चुक्दा नेपालले चौथो पेनाल्टीसम्म पर्खिनुपर्‍यो । अन्ततः चौथो पेनाल्टीमा निशा थोकरले गोल गर्दै नेपाललाई विजयी बनाइन् ।

भारतका लागि पहिलो पेनाल्टी प्रियादर्शनीले प्रहार गरेकी थिइन्, जसलाई नेपाली गोलकिपर अन्जनाले रोकिन्। दोस्रो पेनाल्टी सन्तोषले पोस्टमाथि प्रहार गरिन्, भने तेस्रो पेनाल्टी अष्टम ओरमको प्रहार अन्जनाले सहजै नियन्त्रणमा लिइन्।

खेलको ३०औं मिनेटमा भारतका सोमिया गुगलोथले दुई डिफेन्डर र गोलकिपरलाई बिट गर्दै गोल गरेकी थिइन् र भारतलाई १–० को अग्रता दिलाएकी थिइन् । तर त्यसपछि नेपालले बराबरी गोल गर्दै खेललाई पेनाल्टीसम्म पुर्‍यायो र अन्ततः जित दर्ता गर्‍यो।

यसअघि पनि नेपालले त्रिदेशीय सिरिजमा भारतलाई २–१ ले पराजित गरेको थियो।