ओली र लेखकमाथिको स्थानहदविरुद्ध कारण देखाऊ आदेश जारी

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारको अनुमति बिना काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी तोकिएको स्थानहदविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले स्थानहद तोक्नुको कारण पेश गर्न सरकार र जाँचबुझ आयोगको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।अधिवक्ता डा। प्रेमराज सिलवालले ओली र लेखकमाथि लगाइएको स्थानहद कानूनविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको आगजनी घटनाको छानबिन गर्न गठित आयोगको सिफारिसमा सरकारले ओली, लेखक र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई अनुमतिबिना उपत्यका छोड्न नदिने निर्णय गरेको थियो ।

यसअघि तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीमाथि पनि यस्तै प्रतिबन्ध लगाइएको थियो तर सरकारी कामका लागि बाहिर जानुपर्ने भएकाले सरकारले उनको स्थानहद फुकुवा गरिसकेको छ।