वसन्त नेतृत्वको नेकपा गठन भएको एक बर्षमा चार पटक फुट्यो,नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न

काठमाडौं । पार्टी गठन भएको एक बर्षमा वसन्त बोगटी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चार पटक टुट् फुट भएको छ। बोगटीकाे नेतृत्व गर्ने  कार्यशैली प्रति गम्भीर प्रश्न खडा भएकाे छ। लामो समयदेखि पार्टीसँग आबद्ध तीन नेताले हालको नेतृत्वको निर्णय,कार्यशैली र नीतिगत दिशाप्रति गम्भीर असन्तुष्टि जनाउँदै सामूहिक रूपमा पार्टीका जिम्मेवारीबाट राजीनामा दिएका छन्।

सचिवालय सदस्य अर्जुन बोगटी, केन्द्रीय सदस्य युवराज थापा र केन्द्रीय सदस्य प्रनिशा कटुवालले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमार्फत आफूहरू पार्टीभित्रका सबै जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका हुन्। उनीहरूले पार्टी नेतृत्वले सिद्धान्त र सामूहिक भावना विपरीत निर्णयहरू लिँदै पार्टीलाई मूल उद्देश्यबाट टाढा पुर्‍याएको आरोप लगाएका छन्।

विज्ञप्तिमा भनिएको छ,पार्टी नेतृत्वले आफ्ना निर्णयहरूमा सामूहिक भावना र सिद्धान्तको पालन नगरेको कारण हामी गम्भीर आत्ममन्थनपछि पार्टीमा रहेका सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुने घोषणा गर्दछौं। विज्ञप्तिमा नेतृत्वले कार्यकर्ताको भावना विपरीत अवसरवाद र गुटगत प्रवृत्तिलाई प्रश्रय दिएको गुनासो गरिएको छ।

तीन नेताले हालको पार्टी गतिविधिले संगठनलाई कमजोर बनाएको, सैद्धान्तिक स्पष्टता गुम्दै गएको र जनतामुखी आन्दोलनको बाटोभन्दा यथास्थितिवादी सोच बलियो बन्दै गएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, पार्टीले पछिल्ला निर्णयहरूमा जनआकांक्षाको प्रतिनिधित्व गर्न नसक्दा कार्यकर्ताहरूमा निराशा फैलिएको छ।

पार्टीमा रहँदा सँगै काम गरेका सहकर्मी, शुभेच्छुक र समर्थकहरूप्रति आभार व्यक्त गर्दै उनीहरूले आगामी दिनमा देश, जनता र समाजवादप्रति आफ्नो प्रतिबद्धता जारी रहने उल्लेख गरेका छन्। विज्ञप्तिमा भनिएको छ,हामी संगठनको आडमा होइन, सिद्धान्त र मूल्यको आधारमा समाजपरिवर्तनका यात्रामा निरन्तर रहनेछौं।

राजीनामा घोषणासँगै नेपाल कम्युनिस्ट पार्टीभित्रको असन्तुष्टि सार्वजनिक रूपमा उजागर भएको छ। यो घटनाले पार्टीको आन्तरिक व्यवस्थापन र नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ।