रविलाई जेलमुक्त गरी नयाँ वैकल्पिक शक्ति गठन गरौँ: बाबुराम

काठमाडौं। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई जेलमुक्त गरी उनकै नेतृत्वमा नयाँ वैकल्पिक शक्ति गठन गर्नुपर्ने बताएका छन्।

पुराना दलहरू कांग्रेस र कम्युनिष्टलाई परास्त गर्न सबै नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प नरहेको भट्टाराईले बताए । शुक्रवार रास्वपाले आयोजना गरेको ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रममा बोल्दै भट्टराईले लामिछानेको नेतृत्व क्षमता आवश्यक रहेको औँल्याए। उनलाई बाहिरै राखेर मुद्दाको सामना गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ रहेको छ।

उनले भने, ‘रविजीलाई कुनै तरिकाले निकालौँ, उहाँको नेतृत्व आवश्यक छ। मुद्दालाई बाहिरै बसेर फेस गर्न सकिने अवस्था भए उहाँको क्षमता र प्रतिभाको सदुपयोग हुन सक्छ ।’लामिछानेमाथि भेदभाव भएको महसुस गरेरै आफूले रिहाइको पक्षमा हस्ताक्षर गरेको उनले स्मरण गरे । रास्वपा, रेशम चौधरी, सिके राउतलगायत नयाँ शक्तिहरूलाई अहङ्कार त्यागेर एउटै पार्टी बनाउन आग्रह गरे।

‘कांग्रेस र कम्युनिष्टजस्ता ब्राण्ड पार्टीहरूले जनतालाई ठगेर दुर्दशामा पुर्‍याएका छन्, तिनबाट मुक्त गरी साँचो विकल्प दिनुपर्छ,’ उनले भने । पुराना शक्तिको जरो ७ सालदेखि गाडिएको र पूरै उखेलिन बाँकी रहेको भट्टाराईको भनाइ रहेको छ। नयाँ शक्तिहरू एक ठाउँमा नउभिए पुराना दलहरूलाई हराउन कठिन हुने चेतावनी दिए।