दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोग जाँदै हर्क साम्पाङ

काठमाडौं । निर्वाचन आयोगले धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई दल दर्ता प्रमाणपत्र दिने तयारी गरेको छ । श्रम संस्कृति पार्टीको सनाखतलगायत प्रशासनिक प्रक्रिया पूरा भइसकेकाले आयोगले आज दल दर्ताको आधिकारिक प्रमाणपत्र दिने तयारी गरेको हो ।

उक्त पार्टीका केन्द्रीय सदस्य गोपाल बहादुर खड्काले निर्वाचन आयोगमा आधिकारिकता प्राप्तको प्रमणपत्र लिन दिउँसो २ बजे जाने तय भएको जानकारी दिए । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ ।

यो पार्टीको अध्यक्षमा हर्क साम्पाङ रहेका छन् । पाँच जना पदाधिकारी र २८ जना केन्द्रीय सदस्य रहेका छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् । प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।

गत असोज १२ गते आइतबार साम्पाङ आफैं निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए । आज हर्क आफैँ दल दर्ताको प्रमाणपत्र लिन जाने खड्काले जानकारी दिए।