सबै क्षेत्रमा मन्दी अनि बैंकले कहाँ लगानी गरेर कमाइरहेको छ नाफा ?

पछिल्लो समय राष्ट्रिय दैनिक पत्रपत्रिकादेखि साप्ताहिक पत्रिकासम्ममा बैंक तथा वित्तिय संस्थाको धितो लिलामसम्बन्धी सूचना देखिन्छन्। ऋणीले कर्जा नतिरेपछि उसको नाममा भएका घरजग्गा, गाडी, सेयर लिलाम गर्न बैंकले पत्रपत्रिकामा ३५ दिने सूचना निकाल्छ।

हरेकजसो पत्रिकामा अहिले त्यस्ता लिलाम सूचना छापिएको हुन्छ । त्यो पनि एउटा बैंक, वित्तिय संस्थाको मात्र नभई पाँचदेखि दर्जनसम्मको । तर, बैंकले यसरी लिलाम गर्ने धितो पनि किन्ने कोही छैनन् । बैंकले उठाउनु छ करोड, धितो बेच्दा आउँछ ५० लाख ।

नेपाल राष्ट्र बैंक हप्तैपिच्छे बैंकबाट तरलता तान्छ । बैंकमा कर्जा माग्न जाने कोही छैन । अर्कोतर्फ, बैंकको ऋण नतिर्न नसकेर एक लाख २५ हजार कालोसूचीमा परिसकेका छन् । अब यो संख्या केही समयमै पाँच लाख पुग्ने बजारमा व्यापक चर्चा छ ।

गाडी किन्ने कोही छैनन् । अटो शोरुमहरुले छिमेकी मुलुक भारत र चीनबाट हजारौं नयाँ गाडी (दुई तथा चार पाङ्ग्रे) किनेर ल्याएका छन् । तर, बिक्री नभएपछि थन्काएर राखिएको अवस्था छ । त्यसो त पाँच वर्षअघि करोडौं भनिएका गाडी अहिले लाखौंमा नबिकेको परिस्थिति छ ।

घरजग्गा कारोबार पनि ठप्प छ । मालपोत कार्यालय सुनसान देखिन्छन् । दलाल, भूमाफिया, लेखनदासहरु निराश छन् । घरजग्गा कारोबार शूल्य बराबर भएपछि उनीहरुलाई घरखर्च धान्न मुस्किल परेको छ । यही टेन्सनमा दलालीहरु बिहानैदेखि रातिसम्म भट्टी पसलमा देखिन्छन् ।

पाँच वर्षअघि तीन करोड भनिएका घरजग्गा अहिले ८०–९० लाखमा नबिकेको अवस्था छ । घरजग्गा कारोबार त ठप्प भयो नै सँगै कोठा, सटर, फ्ल्याटसमेत रित्तिँदै छ । बाटोमा हिँड्दा कोठा खाली, फ्ल्याट भाडामा, सटर खाली लेखिएका पोस्टर छ्यापछ्याप्ती देखिन्छन् ।

केही महिनाअघि दुई लाख ५८ हजार पाँच सय रुपैयाँ पुगेको सुन अहिले दुई लाख ३७ हजार तीन सयमा झरेको छ । सुन १५ वर्षअघिकै मूल्यमा फर्किने बताइन्छ । त्यतिबेला सुन प्रतितोला बढमिा ५० हजार रुपैयाँ थियो । सुनको मूल्य पछिल्ला केही वर्षमा मात्रै बढेको छ ।

वि.सं. २०२२ सालमा सुन प्रतितोला ८० रुपैयाँ थियो भन्नेहरु अझै भेटिन्छन् । सुनको मूल्य घट्न थालेसँगै सुन पसलमा भीडभाड देखिन बढेको छ । तर, त्यो भीड सुन किन्नेको होइन, बेच्नेको हो । मूल्य बढ्ने आशामा चर्को रकममा सुन किनेकाहरु डुब्ने पक्का भएपछि बेच्न पसल धाउन थालेका छन् । तर, सुन व्यवसायीहरु किन्दैनन् ।

आफूसँग पैसा नभएको, अन्यत्र लगेर बेच्नुस् भनेर व्यापारीहरु उनीहरुलाई फर्काइदिन्छन् । सुनको मूल्य दलालहरुले बढाएका थिए । कृत्रिम रुपमा बढाइएको मूल्य कहिल्यै धेरै समय टिक्नैन । विचारा सोझासाझा जनताले यो कुरा नबुझ्दा फसेका छन् ।

यसैगरी, सेयरमा लगानी गर्नेहरु पनि डुबिरहेका छन् । सेयर बैंक, वित्तिय संस्था वा जलविद्युत कम्पनीहरुले प्रतिकित्ता एक सय रुपैयाँमा निष्काशन गरेका हुन् । तर, दलालहरुले मूल्य बढाएर ३५ सयसम्म पुर्याए । त्यति चर्कोमा सेयर किन्नेहरु अहिले चुलुम्मै भएका छन् ।

किनकि सेयरको मूल्य घटिरहेको छ र यो निरन्तर घटिरहने देखिन्छ । अहिले २६ सयमा सेयर झरिसक्यो । केही समयपछि दुई वर्षअघि जसरी १८ सयभन्दा तल सेयर भर्ने बताइन्छ । बजारमा पाँच सय र हजारको रुपैयाँ छैन । पैसा हुनेले लुकाएका छन्, पैसा नहुनेसँग त हिजो पनि थिएन, आज पनि छैन ।

व्यापारी तथा व्यवसायीहरु भन्छन्, ‘मन्दी आयो, डुबियो ।’ निजी संघसंस्था, होटल, रेस्टुरेन्ट, पसल, घरेलु काम गर्नेहरुले ६ महिनादेखि वर्षौ भइसक्यो तलब नपाएको । मासिक पाँच हजारदेखि बढीमा १२ हजार रुपैयाँ तलबमा काम गरिरहेका उनीहरु त्यो तलब पनि नपाएपछि मारमा परेका छन् ।

काम छोडौं भने तलब पनि माया मार्नुपर्यो, काम गरौं भने तलबबिना कसरी गर्नु, उनीहरु दोहोरो मारमा परेका छन् । महालेखापरीक्षकको कार्यालय भन्छ–सरकारको आम्दानीभन्दा खर्च धेरै भयो । सहकारी डुबे । लघुवित्त, फाइनान्स पनि डुबे । बैंकमा समस्या आइसकेको छ ।

बैंक, वित्तिय संस्थासँगै जलविद्युत कम्पनीहरु पनि धमाधम डुब्दैछन् । तर, दलालीहरु अझै भ्रम सिर्जना गरेर जनता फसाउन लागिपरेका छन्। यस्तो अवस्थामा समेत उनीहरु सेयरको मूल्य बढाइरहेका छन् । र, सोझासाझा जनता डुबाइरहेका छन् ।

यो पटक पनि दशैं, तिहार र छठमा व्यापार भएन । व्यापारीहरु निराश हुनुपर्यो । व्यापार नभएपछि धेरै व्यापारी पलायन भइसकेका छन् । राजनीतिक दलका नेतादेखि व्यापारीहरुले बैंकबाट ठूलो मात्रामा ऋण लिएका छन् । त्यो पनि कमसल धितो राखेर ।

नेपाल उद्योग वाािण्ज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले ५० अर्बको धितो राखेर बैंकबाट डेढ अर्ब ऋण लिएको बताइन्छ । त्यो धितो पनि सरकारी, गुठी, ऐलानी जग्गा हो भन्ने चर्चा बजारमा सुनिन्छ । यस्तै, भाटभटेनी साहु मीनबहादुर गुरुङले २८ वटा भाटभटेनी धितो राखेर विभिन्न बैंकबाट ५३ अर्ब ऋण लिएका छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा दर्जनौं भाटभटेनी जलेर खरानी भयो । अन्यमा पनि तोडफोड, लुटपाट भयो । अब उनले त्यो ऋण कसरी तिर्छन् ? गुरुङले ऋण तिर्न नसकेर धितो गर्न पनि धितो खरानी भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङको पाथीभरा आसपास सात लाखमा किनेको जग्गा धितो राखेर बैंकबाट २८ करोड ऋण लिएको बताइन्छ ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले बैंकबाट १४ अर्ब ऋण लिएका छन् । उनले धितो राखेर आफ्नो महलजस्तो घर जेनजी आन्दोलनका क्रममा खरानी भएको छ । यसैगरी, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि बैंकबाट ११ अर्ब ऋण लिएका छन् । एमाले नेता महेश बस्नेतको सात अर्ब ऋण छ । जेनजी आन्दोलनमा उनको पनि धितो राखिएको घर जलेको छ ।

शिवशिखर, देउराली, लालीगुराँस, सुमेरु, कान्तिपुरलगायत हजारौं ठूला सहकारीले बैंकबाट अर्बौ ऋण लिएका छन् । यी सहकारी समस्याग्रस्त घोषणा भइसकेका छन् भने केही अध्यक्ष, सञ्चालक जेल जीवन बिताइरहेका छन् त केही फरार छन् । यी सहकारीमा निक्षेप राखेका बचतकर्ताकै रकम फिर्ता भएको छैन ।

अनि बैंकको ऋण तिर्ने आशा त कल्पनाबाहिर देखिन्छ । पाँच वर्षअघि सहकारी, बैंक, लघुवित्त, फाइनान्सबीच ब्याजका निम्ति हानाथाप हुन्थ्यो। कसले कति ब्याज दिने भनेर प्रतिस्पर्धा चल्थ्यो । तर, अहिले निजी होस् या सरकारी बैंकले एकदेखि बढीमा दुई प्रतिशत डिपोजिटको ब्याज दिन्छन् ।

बैंकहरुले धमाधम कर्मचारी कटौती गरिरहेका छन् । र, शाखा कार्यालय पनि घटाइरहेका छन् । कतिपय बैंकको पनि एटीएम मेशिनमै पैसा हुँदैन । बैंक डुब्ने संकेत देखिएपछि अहिले बचतकर्ताबाट भटाभट आफ्नो रकम निकालिरहेका छन् ।

उता, बैंक चाँहि आफूले यति नाफा कमाएको भन्दै महिनैपिच्छे सार्वजनिक गर्दछन् । घरजग्गा, गाडी, सेयर, सुन कारोबार ठप्प छ । व्यापार व्यवसायमा मन्दी छ । अनि बैंकले कुन क्षेत्रमा लगानी गरेर नाफा कमाइरहेको छ ।

हिजो सहकारी डुब्न लाग्दा पनि यस्तै नौंटकी गरिएको थियो । अब बैंकले पनि त्यही गरिरहेको छ । त्यसैले, सरकार र जनता दुवै सचेत हौं । जनताको निक्षेप डुब्न नदिन सरकारले बैंकहरुमाथि निगरानी बढाउनुपर्छ । र, जनता पनि चनाखो हुनुपर्छ ।