प्रचण्ड-माधवहरूबीच १८ बुँदे सहमति,चुनाव चिह्न तारा
काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीसहित विभिन्न आठ दलबीच कार्तिक १९ गते एकता घोषणा हुने भएको छ । आठ दलका शीर्ष नेताहरुबीचको बैठकले आइतबार पार्टी एकता सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। आइतबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यदलको बैठकमा यी पार्टीहरूबिच १८ बुँदे सहमति भएको हो।
पार्टी एकता सहमति पत्रमा पूँजीवादी(जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पुरा गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता रहेको उल्लेख गरिएको छ ।
१८ बुँदे सहमति सहमती
१-पार्टीको मार्गनिर्देशक सिद्धान्त:मार्क्सवाद-लेनिनवाद हुनेछ ।
२-नेपाली क्रान्तिको कार्यक्रम :नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ ।
३-पार्टीको तात्कालिक कार्यनीति: पुँजिवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने छ ।
४-आन्दोलनको स्वरूप : आन्दोलन मूलतः शान्तिपूर्ण हुनेछ । परिस्थिति अनुसार सडक, सदन र सरकार लगायत आवश्यकता अनुसारका सबै मोर्चाहरू आन्दोलनको मोर्चा हुनेछन् ।
५-पार्टीको एकता राष्ट्रिय सम्मेलन : एकता प्रक्रियामा सहभागी सबै घटकहरूका केन्द्रीय समितिहरूको संयुक्त भेलाको रूपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना २०८२ कार्तिक १९ गते गरिने छ । एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठन लगायतका कार्यहरू गरिनेछ ।
६-एकता राष्ट्रिय महाधिवेशन : आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ ।
७ – केन्द्रीय समितिको गठन : एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साविकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने छ ।
८-केन्द्रीय समिति भित्रको संरचना : केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय, कार्य संयोजन समिति हुनेछ ।
९- संयोजक र सहसंयोजक:केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद हुनेछ । प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरुमा पनि संयोजक र सह संयोजकको व्यवस्था हुनेछ ।
१०-सहमति र समन्वय : एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू, आयोजना, सङ्गठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिनेछ ।
११-सबै तहको पार्टी पङ्क्तिमा एकता समायोजन: सबै तहका पार्टी समितिहरू र जनसङ्गठनहरूमा इन्चार्ज तथा सहइन्चार्ज र संयोजक तथा सहसंयोजक सम्भव भएसम्म एकतामा सहभागी घटकहरूबाट रहने व्यवस्था गरिने छ ।
१२-दुई तहमा रहन सक्ने :कुनै पनि सदस्यहरू दुई तहको समितिमा रहन सक्ने छन् ।
१३- पार्टी समितिहरूको सञ्चालन: पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रियताको सिद्धान्त अनुरुप हुनेछ ।
१४-राजनीतिक प्रतिवेदन र कार्यक्रम :पार्टी एकता घोषणापश्चात् राजनीतिक प्रतिवेदन, कार्यक्रम लगायतका दस्तावेजहरू निर्माण गर्न कार्यदल गठन गरिने छ ।
१५- सङ्गठनात्मक समायोजन : पार्टी समितिहरू र जनसङ्गठनहरूमा सङ्गठनात्मक एकता र समायोजनका लागि विभिन्न तहमा कार्यदल गठन गरिनेछ ।
१६-पार्टीको तहगत कार्यकारी समितिहरु: केन्द्र, भौगोलिक र गैरभौगोलिक दुबै तर्फका प्रदेश, जिल्ला, पालिका र वडा तह कार्यकारी हुनेछन्। संघ र प्रदेश निर्वाचन क्षेत्रमा समन्वय समिति हुने र टोल तथा प्रारम्भिक स्तरका समितिहरु संगठन समितिको रूपमा रहने छन् ।
१७-पार्टीको नाम र चुनाव चिन्ह : पार्टीको.. नाम रहने र चुनाव चिन्ह पाँचकुने तारा हुने छ ।
१८-मतभेद समाधान : वैचारिक राजनीतिक विषयमा एकआपसमा रहन सक्ने मतहरूबारे निरन्तर छलफल गर्दै जाने र एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुयाईने छ ।
