राष्ट्रपति पौडेल कतार प्रस्थान

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान गरेका छन्। कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपतिलाई विदाइ गरे।

राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछन्।

३० वर्षपछि पुनः आयोजना हुन लागेको यो सम्मेलन संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार भइरहेको हो। यसअघि सन् १९९५ मा पहिलो सम्मेलन डेनमार्कको कोपनहेगनमा भएको थियो।

सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायतका व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए।

राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किनेछन्।