जेनजी आन्दोलन: प्रहरी हत्या आरोपमा ५ जना जेल चलान

काठमाडौं। जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। महाराजगञ्ज प्रहरी वृत्तका असई मिलन राय, जवान उत्तम थापा र कोटेश्वर प्रभागका सहायक हवलदार अमृत गुरुङको हत्यामा संलग्न रहेको ठहर गर्दै अदालतले उनीहरूलाई थुनामा राख्ने आदेश दिएको हो।

असई राय हत्यामा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी-४ का ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुर चौदण्डीगढी–१० का २८ वर्षीय टिकाराम विकलाई कर्तव्य ज्यान र आपराधिक उपद्रवमा मुद्दा चलाइएको छ।

जवान थापा हत्यामा काभ्रे रोशी-९ का २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुर थाहा(७ का २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ) तथा सहायक हवलदार गुरुङ हत्यामा कैलाली लम्मीचुहा-४ का १९ वर्षीय अनुयम भण्डारी कारागार पठाइएका हुन्। भण्डारी क्रिकेट खेलाडीसमेत हुन्स उनलाई भारतमा ट्रेनिङ लिएर फर्किएलगत्तै कैलालीबाटै पक्राउ गरिएको थियो।

गत २४ भदौमा भएको जेनजी आन्दोलनमा तीन प्रहरीसहित ७६ जनाको ज्यान गएको थियो। अहिले पनि सात जना हिरासतमा छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोम गुरुङ, राजिव गुरुङ, युनिक श्रेष्ठ,सुमित तितुङ,दिपक मगर,अलिश श्रेष्ठ र सौरभ तामाङमाथिको अनुसन्धान अन्तिम चरणमा छ। केही दिनमै मुद्दा दर्ता हुने तयारी छ।