पार्टी सुधार गर्न गगनले खोजे युवाहरूको साथ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सुधार र पुर्नगठन गर्न युवाहरुको सक्रिय साथ आवश्यक भएको बताएका छन् ।
सामाजिक सञ्जालमा साढे १४ मिनेट लामो भिडिओ सन्देश जारी गर्दै नेता थापाले पार्टी भित्र र बाहिरका नौजवानहरुलाई कांग्रेस सुधार गर्ने यात्रामा सहभागी हुन आग्रह गरेका हुन् ।
साथै उनले देशप्रतिको जिम्मेवारी वोध, अहिलेको अवस्थाप्रतिको चिन्ता र चिन्तनको कारण हाल जारी केन्द्रीय समिति बैठकमा पार्टी अधिवेशनको विषय प्रवेश गराएको बताएका छन् ।
‘कांग्रेस पार्टी अधिवेशनको बहसमा पार्टीका सबै साथीहरूलाई सक्रिय सहभागिताको लागि आग्रह गर्दछु,उनले भनेका छन्, ‘तपाईंहरूको साथ अपरिहार्य छ । साथै, अन्य नौजवान साथीहरूलाई पनि अनुरोध गर्दछु, कांग्रेससँग प्रत्यक्ष सम्बन्ध नभए पनि यसको सुधारको यात्रामा तपाईंहरूको समर्थनले नयाँ ऊर्जा र बल प्रदान गर्नेछ ।
भदौ २३ गते सबै नागरिकहरुले भ्रष्टाचार, नातावाद कृपावाद, असक्षमता, कुशासनका विरुद्धमा व्यापक असन्तुष्टि पोखेको भन्दै उनले यी सबै असन्तुष्टिको एउटा कारण कांग्रेस पनि भएको उल्लेख गरेका छन् ।
भदौ २३ र २४ गतेको आन्दोलन पहिलोपटक कांग्रेसको विरुद्धमा लक्षित भएको भएको भन्दै थापाले युवाहरुले गरेको खबरदारीलाई विर्सेर अघि बढ्न नसकिने स्पष्ट पारेका छन्।

