मधेशमा ४ सदस्यीय मन्त्रीपरिषद गठन, कुन दलबाट को बने मन्त्री ?

काठमाडौं। मधेश प्रदेशमा नेकपा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको छ। सबैभन्दा ठूलो दलको हैसियतले आज बिहान सबेरै मुख्यमन्त्रीको शपथ लिएका एमाले संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा ४ सदस्यीय मन्त्रिमण्डल गठन भएको हो।

सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका छन्।उनीहरुलाई कुनै मन्त्रालयको जिम्मेवारी दिइएको छैन।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका जितेन्द्र सोनलले यही कात्तिक २३ गते पदबाट राजीनामा दिएका थिए।

त्यसपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

स्वास्थ्य उपचारका लागि भन्दै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरी बीच बाटोमै बर्दिबासको एक होटलमा शपथ खुवाएपछि उनको चर्को आलोचना भइरहेको छ।