फागुन २१ को निर्वाचन ‘हनी ट्र्यापिङ’ हो: बादल

चितवन । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ मा गर्ने भनिएको निर्वाचन प्रतिक्रान्तिलाई वैधता दिन रचिएको ‘हनी ट्र्यापिङ’ भएको बताएका छन् । ठुला तथा स्थापित दलहरू यस्तो प्रपञ्चमा नपर्नुपर्ने उनको भनाइ छ ।

नेकपा एमाले चितवनले शनिवार नारायणगढमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै बादलले भदौ २३ र २४ गते देश तथा जनताविरुद्ध रचिएको षड्यन्त्रलाई वैधता दिन निर्वाचनको नाटक मञ्चन गर्न खोजिएको आरोप लगाए ।

उनले फागुन २१ को निर्वाचनअघि नै स्थापित दल र तिनका नेतालाई फसाएर मात्र कार्की सरकारले निर्वाचन गर्ने दाबी गरे । यसका लागि विभिन्न षड्यन्त्र रचिएको उनको भनाइ छ। संविधानले अयोग्य ठहर्‍याएको पात्रलाई विदेशी इशारामा संविधान च्यातेर प्रधानमन्त्री बनाइएको भन्दै बादलले ठुला तथा स्थापित दलका नेतालाई चुनावमा भाग लिन नदिए उनीहरूलाई पनि विदेशी शक्तिले हटाउने चेतावनी दिए ।

प्रतिनिधिसभा पुनःस्थापना गरेर जनताको सार्वभौम संसद्बाट बन्ने सरकारले मात्र निर्वाचन गराउनुपर्ने उनको माग छ । ‘विदेशी शक्तिले नेपालका स्रोत–साधन कब्जा गर्न, छिमेकी देशहरूमा पृथकतावादी आन्दोलन भड्काउन नेपाललाई सैनिक अखडा बनाएर प्रयोग गर्ने षड्यन्त्रको एउटा कडी भदौ २३–२४ को कलर रिभोलुसन हो,’ बादलले भने, ‘त्यसका लागि बालेन र रविजस्ता नाममा कठपुतली जेलेन्स्कीहरू जन्माउन खोजिँदै छ।

स्थापित दलहरू यो षड्यन्त्र नबुझी विभाजित भए देश विदेशीको सैनिक अखडा बन्ने चेतावनी दिँदै उनले निर्वाचनलाई भुलभुलैयामात्र ठाने । प्रचण्ड र माधव नेपालसहित मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी ‘१० कोठे टहरो’ मात्र भएको भन्दै त्यसले उनीहरूको ओरालो यात्रा नरोक्ने बादलको भनाइ छ।

‘निर्वाचनमा अस्तित्व जोगाउन उनीहरूले १० कोठे टहरो ठड्याएका हुन्, त्यसले पनि ओरालो यात्रा रोकिँदैन। मूल घरमा फर्किएमात्र केही जोगिन सक्छन्,उनले भने । १० कोठे टहरो बनाउनेहरू कोर्स सुधारेर मूल घर फर्कन पार्टीले अपिल गरेको र केही फर्किसकेको उनले जानकारी दिए।